ऐनले स्पष्ट व्यवस्था गरेको भए पनि, स्थानीय तहमा मन्त्रालयबाट पठाइएका प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न नदिने परम्परा हाबी हुँदै आएको छ। यसले पालिकाभित्र सुशासन र प्रशासनिक उत्तरदायित्व कमजोर मात्र बनाएको छैन, निर्वाचित जनप्रतिनिधि र नियुक्त प्रशासकीय नेतृत्वबीच द्वन्द्वपूर्ण अवस्था समेत सिर्जना गरिरहेको छ।
काठमाडौँ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका बेथिति र चरम लापरबाहीको नमुना बन्दै गएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ २ गतेको निर्णयअनुसार साबिकको गृह मन्त्रालयअन्तर्गतका अजम्बर राईलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सो गाउँपालिकामा सरुवा गरेको थियो।
तर भदौ ५ गते हाजिर हुन आएका राईलाई पालिकामा प्रवेश नै रोक्ने प्रयास गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत राईका अनुसार गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबा नेतृत्वको समूहले हाजिरी गर्न नदिने षड्यन्त्र गरेको हो। उनले भने, “मैले पालिका अध्यक्षलाई फोन गर्दा उहाँले सिधै पालिकामा नआउनुहोस्, अरू सरुवा लिनुहोस् भनेका थिए। तर म मन्त्रालयको निर्णयअनुसार पालिकामा आउँछु भनेर काममा हाजिर भएँ।”
राई कार्यकक्षमा प्रवेश गरेर हाजिर गर्न खोज्दा पुरानो रजिस्ट्रार लुकाइएको थियो। पछि उपाध्यक्ष चेखबहादुर थिङको रोहबरमा नयाँ हाजिरी रजिस्ट्रार खडा गरी उनले हाजिर गरेका थिए।
यत्ति मात्र होइन, राई जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा एक बैठकमा सरिक रहँदा सोही अवसर पारी पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत कर्मचारी दिपेन्द्र कुमार पैकाराले विभिन्न निर्णय गरेको त्यहाँका कर्मचारीहरूले बताएका छन्।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहमा खटाउने व्यवस्था भए पनि कतिपय पालिकाले मन्त्रालयबाट पठाइएका अधिकृतलाई हाजिर नगराई फर्काउने गरेको पाइन्छ। हरिहरपुरगढी गाउँपालिकामा पनि विगत एक वर्षभन्दा बढी समयदेखि सातौँ तहका कर्मचारी पैकारालाई निमित्त प्रमुख बनाएर कामकाज चलाइँदै आएको छ।
राईले मन्त्रालयले पठाएको निर्णयअनुसार नै आफू काम गर्ने अडान दोहोराउँदै भने, “मन्त्रालयले मलाई यहाँ काम गर्न पठाएको हो। नियमअनुसार काम गर्छु। असहज भए कानुनी प्रक्रियामा जान्छु।”
उनले प्रमुख प्रशासकीय अधिकृतको रमाना पत्र र सरुवा पत्र दर्तामा समेत अध्यक्ष पक्षले अवरोध गरेको आरोप लगाए। अध्यक्ष वाइबाले रमाना र सरुवा पत्र दर्ता नगराई आफूसँगै राखेका थिए। दर्ता गर्ने कर्मचारीहरूलाई समेत धम्की दिएपछि कम्प्युटरको पासवर्ड फेला पारेर दर्ता गरिएको उनले बताए।
यसअघि पनि मन्त्रालयले खटाएकी प्रमुख प्रशासकीय अधिकृत दिपशीखा आलेलाई पालिकामा प्रवेश नै नगराई सरुवा गर्न बाध्य बनाइएको थियो। अहिले भने अध्यक्ष समूहकै दबाबमा स्वास्थ्य शाखाका कर्मचारी पैकारालाई निमित्त प्रमुख बनाएर पालिकामा कामकाज चलाइँदै आएको छ। यसबारेमा पालिका अध्यक्षसँग कुरा गर्न खोज्दा उनको फोन उठेन।







