काठमाडौँ । कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान संकलन तथा भुक्तानी प्रणालीलाई एकीकृत गर्ने प्रस्तावमाथि छलफल भएको छ ।
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना सुनिश्चित गर्ने तथा योगदान संकलन र सेवा भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले तीनवटै निकायबीच एकीकृत प्रणाली विकास गर्ने विषय अघि सारिएको हो ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको उपस्थितिमा भएको बैठकमा अलग-अलग संरचनाअन्तर्गत सञ्चालन भइरहेका तीनवटै निकायलाई एकीकृत गर्ने दुई सम्भावित कानुनी विकल्पमाथि विचार-विमर्श भएको छ ।
पहिलो विकल्पमा विद्यमान ऐनहरू संशोधन गरी तीनवटै निकायलाई आपसमा आबद्ध गर्ने प्रस्ताव गरिएको छ । दोस्रो विकल्पमा भने एउटै ऐनअन्तर्गत तीनवटै निकायलाई अलग-अलग कार्यगत इकाइका रूपमा सञ्चालन गर्ने विषय समेटिएको छ ।
छलफलमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य बीमा बोर्डका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।






