काठमाडौँ । मकवानपुर-२ का सांसद महेशकुमार बर्तौलाले त्रिभुवन राजमार्ग अन्तर्गत हेटौँडा-भैसे सडक खण्डो बाघझोरा खोलाको बारम्बारको समस्या समाधानका लागि उच्च तहमा पहल थालेका छन् ।
सोमबार उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र मन्त्रालयका सचिव केशवकुमार शर्मालाई भेटेर ज्ञापन पत्र बुझाउँदै बाघझोरा खोलाले निम्त्याइरहने सडक अवरोधको दीर्घकालीन समाधान तत्काल खोज्न आग्रह गरेका हुन् ।
सांसद बर्तौलाले बाघझोरा खोलामा आउने खहरे बाढीले बारम्बार सडक अवरुद्ध गर्ने भएकाले अब स्थायी समाधान खोजिनुपर्ने भन्दै ओभरपास वा अण्डरपास कुन उपयुक्त हुन्छ भन्ने विषयमा तत्काल प्राविधिक अध्ययन सुरु गर्न मन्त्री दाहाल र सचिव शर्मासँग आग्रह गरे । उनका अनुसार, मन्त्री दाहालले समस्या समाधानलाई मन्त्रालयले उच्च प्राथमिकतामा लिने प्रतिबद्धता व्यक्त गर्दै अध्ययन प्रक्रियालाई अगाडि बढाउन सचिवलाई निर्देशन दिएका छन् ।
‘यो मकवानपुरवासीको मात्र नभई त्रिभुवन राजमार्ग भएर देशका विभिन्न भागमा यात्रा गर्ने सम्पूर्ण यात्रुको साझा समस्या हो,’ सांसद बतौलाले भने, ‘थोरै वर्षा हुँदा समेत खहरे बाढीले घण्टौँ सडक बन्द हुने समस्या अब दीर्घकालीन रूपमा अन्त्य हुनुपर्छ ।’
हालै केही दिनअघि पनि बाघझोरा खोलामा आएको बाढीका कारण सयौँ सवारी साधन अवरुद्ध भएर हजारौँ यात्रुले सडकमै रात बिताउनुपर्ने अवस्था सिर्जना भएको थियो । स्थानीय र यात्रुले पटक पटक सरोकारवाला निकायलाई जानकारी दिँदै आए पनि स्थायी समाधानका लागि ठोस पहल नभएको भन्दै गुनासो गर्दै आएका छन् ।
सांसद बर्तौलाले ज्ञापन पत्रमार्फत मन्त्री दाहाललाई अविलम्ब मातहतका निकायलाई निर्देशन दिई प्राविधिक अध्ययन र आवश्यक संरचना निर्माणको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।







