काठमाडौँ । उपसभामुख इन्दिरा रानाले तीज पर्वले लैंगिक समानता र महिलाको हक अधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।
हरितालिका तीजका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्दै उनले भनिन्, “हरितालिका तीजले नेपाली महिलालाई सशक्तीकरणको दिशामा अघि बढ्न तथा समाजमा विद्यमान लैंगिक विभेद, जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्यका लागि सन्देश दिन्छ ।”
भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले यस दिनलाई उत्सवका रूपमा मनाउने चलन छ । सांस्कृतिक र धार्मिक पर्वका रूपमा हरितालिका तीजको नेपाली समाजमा महत्त्वपूर्ण स्थान छ । पर्वमा महिलाले भगवान् शिव-पार्वतीको पूजा आराधना गर्दै आफ्नो सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने विश्वास छ ।
शुभकामना सन्देशमा भनिएको छ, “यस्ता सांस्कृतिक पर्वले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याइरहेका हुन्छन् ।”







