काठमाडौँ । बागलुङ र पोखरामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाले एक लाखमूनिका बचतकर्तालाई रकम फिर्ता दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।
बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली संस्थापक अध्यक्ष रहेको सहकारीले बागलुङमा एक लाखमूनिका सबै बचतकर्तालाई रकम फिर्ता दिइसकेको र पोखराका १ सय ५८ जनालाई फिर्ता दिन थालिएको सहकारी पीडित संघर्ष समितिले जनाएको छ ।
समितिका अनुसार बागलुङका ६ सय १३ जनाको करिब ५ करोड रुपैयाँ फिर्ता गरिसकिएको छ । सोमबार पोखरा शाखाका ५२७ जनामध्ये एक लाख मुनि बचत रहेका १५८ जनालाई रकम फिर्ता गर्न थालिएको हो । उनीहरूको करिब एक करोड रुपैयाँ फिर्ता गर्नुपर्ने छ ।
उक्त सहकारीको बागलुङ, गलकोट, बुर्तिवाङमा १ हजार ५७४ र पोखरामा ५२४ बचतकर्ताको १ अर्ब ९५ करोड रुपैयाँ डुबेको अदालत दायर भएको अभियोग पत्रमा उल्लेख गरिएको थियो । हालसम्म बागलुङका १ हजार ५०६ जना र पोखराका ३८७ जनासँग मिलापत्र भइसकेको पीडित संघर्ष समितिको भनाई छ । एक लाख मुनि बचत रहेकाहरूको बचत फिर्ता गरिसकिएको र एक लाखभन्दा माथि रहेकाहरूको हकमा भने मिलापत्र गरिएको छ।
एक लाखभन्दा बढी बचत रहेको बचतकर्ताको हकमा भने बागलुङ, पोखरा, चितवन र काठमाडौँमा चलन चल्लीको मूल्यको घर घडेरी उपलब्ध गराउने तयारी गरिएको छ ।







