काठमाडौँ । नेकपा एमालेले नेकपा माओवादी केन्द्र मुलुकको वैचारिक-राजनीतिक नेतृत्व गर्ने प्रतिस्पर्धाबाट बाहिरिसकेको निष्कर्ष निकालेको छ ।
गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा माओवादीको जनवादी अधिनायकत्वको एकदलीय सोच उहिल्यै असफल भइसकेको उल्लेख छ ।
‘प्रचण्ड पथलाई कुनै निर्जन बाटोतिर थन्क्याएका माओवादी साथीहरूका लागि आज माओवादी ट्याग पनि भारती भएको छ,’ दस्तावेजमा भनिएको छ, ‘शान्ति प्रक्रियामा आइसकेपछि अगाडि सारिएका सत्ता कब्जा, सेनामा समूहगत समायोजन, जातीय राज्य लगायत माओवादीका प्राय: सबै प्रयोग असफल भएका छन् ।’
एमालेले माओवादी केन्द्र अस्थिरता, अवसरवाद एवं विभाजनकारी सोच र भ्रष्ट व्यवहारले वैचारिक, सांगठनिक र चारित्रिक हिसाबले निरन्तर क्षयीकरण हुँदै गएको निष्कर्ष निकालेको छ ।
हङ पार्लियामेन्टका कारण सत्ताको लाभ लिइरहे पनि मुलुकको वैचारिक राजनीतिक नेतृत्व गर्ने प्रतिस्पर्धाबाट माओवादी केन्द्र बाहिरिइसकेको एमालेले आफ्नो दस्तावेजमा उल्लेख गरेको छ ।







