काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि हुन लागेको जेन जेडहरूको प्रदर्शनलाई बिथोल्ने, घुसपैठ र दमन गर्ने लगायतका कार्य नगर्न खबरदारी गरेको छ ।
आइतबार पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै जेन जेडहरू सडकमा आउन आँट्नु उल्लेख्य राजनीतिक परिघटना भएको बताएका छन् ।
उक्त प्रदर्शनबारे जानकारी पाएर आफ्नो पार्टी उत्साहित भएको पनि विज्ञप्तिमार्फत बताइएको छ ।
‘भोलि हुन लागेको नेपालको पछिल्लो पुस्ताको स्वस्फूर्त प्रदर्शनबारे जानकारी पाएर उत्साहित भएका छौँ । सरकारको श्रृंखलाबद्ध कुशासन र राज्य शक्तिको दुरुपयोग, स्वतन्त्रता र मौलिक हक हननका विरुद्ध हामी सदनदेखि सडकमा आवाज निरन्तर उठाइरहेकै छौँ,’ रास्वपाले भनेका छन्, ‘यो परिप्रेक्षकमा समेत सशक्त ढंगले सडकमा आउन आँट्नु उल्लेख्य राजनीतिक परिघटना हो । सार्वजनिक मामिलामा सबैको लोकतान्त्रिक संस्कारसंगत प्रत्यक्ष हस्तक्षेप रहोस् भन्ने मान्यता हाम्रो दलको रहेको छ ।’
प्रदर्शनमा सरकारको प्रतिक्रिया एवं वक्रदृष्टिमाथि रास्वपाले निगरानी राख्ने बताएको छ ।
‘जेन जेडले उठाएका विषयहरूलाई निष्कर्षमा पुर्याउन अपिल गर्दै जेन जेडको यो प्रयासलाई बिथोल्ने, घुसपैठ र दमन गर्ने लगायतका कार्य नगर्न सरकार र सत्तापक्षीय दलहरूलाई खबरदारी गर्दछौँ,’ रास्वपाले भनेको छ ।
प्रदर्शनमा पार्टीसँग आबद्ध लगायत समस्त युवाहरूलाई कुनै पनि दलीय संकेत, नारा र परिचय प्रयोग नगरी ऐक्यबद्धता प्रकट गरेको छ ।







