सामाजिक सञ्जाल बन्ददेखि भ्रष्टाचार र ‘नेपो बेबिज’ शैलीविरुद्ध आक्रोशित जेन जेडको रगत सडकमा बग्दा सरकार र संसदको उत्तर के हो ? असन्तोषलाई विद्रोहमा धकेलेर दमनमै सीमित गर्ने कि नयाँ सामाजिक करारको मार्ग खोल्ने ?
नेपालले सोमबार देखेको जेन जेड आन्दोलन केवल सामाजिक सञ्जाल बन्दको प्रतिक्रिया मात्र होइन, गहिरिँदो सामाजिक–राजनीतिक असन्तोषको विस्फोट हो । एकै दिनमा दर्जनौँ युवाको ज्यान गुम्नु, सयौँ घाइते हुनु र मुलुक तनावग्रस्त हुनु यस आन्दोलनको स्वरूप र संदेश दुवै प्रष्ट पार्छ ।
अस्तित्वमाथिको प्रहार
जेन जेड पुस्ता इन्टरनेट र सामाजिक सञ्जालसँगै हुर्किएको पुस्ता हो । तिनको शिक्षा, सम्बन्ध, रोजगारी र मनोरञ्जनको संसार डिजिटल माध्यमसँग गाँसिएको छ । सरकारले सूचीकरणको नाममा अचानक फेसबुक, युट्युबसहित २४ भन्दा बढी सामाजिक सञ्जाल बन्द गर्दा उनीहरूले यसलाई आफ्नो अस्तित्वमाथिको प्रहारका रूपमा बुझे । यो निर्णयको असर कस्तो पर्छ भन्ने गहिरो अध्ययन नगरी लागू गरिनु सरकारको ठूला भूलमध्ये एक भयो । यही असंवेदनशीलताले असन्तोषलाई विद्रोहमा रूपान्तरण गर्यो ।
आन्दोलित युवाहरूले बोकेका प्लेकार्ड र लगाएका नाराबाट पनि आन्दोलन केवल प्रविधि प्रतिबन्धको विरोध मात्र होइन, दशकौँदेखिको राजनीतिक-शासकीय वृत्तमा मौलाएको ‘महाराजकीय’ शैली र जीवनशैलीविरुद्धको आक्रोश पनि हो । आन्दोलनकारी युवाले बोकेको ‘जेन जी नेपो बेबिज’ लेखिएको झन्डाले नेताका छोरा-छोरीको विलासी जीवनशैलीप्रति प्रत्यक्ष प्रहार गरेको थियो । कर तिरेको जनताको पसिनाको धन नेताका सन्तानले विदेशमा मौज-मस्ती र ऐश्वर्यमा खर्च गरेको छ भन्ने आक्रोश यस आन्दोलनको अर्को गहिरो पाटो हो ।
भ्रष्टाचार र बेथितिप्रतिको आक्रोश
पहिलो दिनमै सडकमा प्रकट भएको अर्को सन्देश हो-भ्रष्टाचार र बेथितिप्रतिको असह्य आक्रोश । राज्य संयन्त्र, राजनीतिक नेतृत्व र शासक वर्गका परिवारले जनताको पसिनाको प्रतिफल भोगविलासमा खर्च गरेको आरोप युवाले प्रत्यक्ष उचाले । “नेपो बेबिज” लेखिएका झण्डा, नेता पुत्र-पुत्रीको मोजमस्तीविरुद्धको नाराले यो आन्दोलन केबल प्रतिबन्धको प्रतिक्रियाभन्दा धेरै ठूलो बनेको प्रमाणित गर्यो । दशकौँदेखि मौलाउँदै आएको भ्रष्टाचार र शक्ति दुरुपयोगप्रति नयाँ पुस्ताले देखाएको प्रतिरोध अब उपेक्षित गर्न सकिँदैन ।
पत्रपत्रिकाहरूमा देखाइएको एउटा स्पष्ट पक्ष के हो भने, यो पुस्ताले आफ्नो पसिनाको कर नेताका परिवार र सन्तानको ऐश्वर्यशाली जीवनशैलीमा खर्च भएको महसुस गर्यो । यो आन्दोलनले केवल प्रविधि बन्देज मात्र होइन, दशकमै जरा गाडेको राज्य-सत्ताको चरम भ्रष्टाचारमाथि घातक प्रश्न उठायो ।
देश निर्माणको चेतसहितको विद्रोह
यो आन्दोलन कुनै दल वा विचारधाराबाट प्रेरित थिएन । स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएका युवाले देश निर्माणप्रतिको चेत बोकेका छन् । यही विशेषताले यस आन्दोलनलाई विगतका आन्दोलनभन्दा फरक बनाएको हो ।
अघिल्ला आन्दोलनमा राजनीतिक दलका झण्डा र नेताका निर्देशन प्रमुख हुन्थे । यस पटक भने युवाले आफ्नै चिनारीका झण्डा बोके, आफ्नै नाराले सडक तताए । उनीहरूका आवाजमा असह्य पीडा मात्र होइन, नयाँ राष्ट्र निर्माणको आकाङ्क्षा पनि मिसिएको छ ।
तर, सरकार र सुरक्षा संयन्त्रले यसलाई सामान्य असन्तोष ठानेर दमनमार्फत रोक्ने प्रयास गर्यो । गोली हानेर कलिला युवाको रगत बगाउनु न त सह्य छ, न क्षम्य । यसले नागरिक र राज्यबीचको दूरी अझ बढायो, जसले भविष्यमा अझ ठूलो सङ्कट जन्माउन सक्छ ।
पुस्तागत अन्तर र मनोविज्ञान
साइलेन्ट पुस्ता, बेबी बुमर्स, जेन-एक्स, मिलेनियल्सदेखि आजको जेन–जेडसम्म प्रत्येक पुस्ताले कुनै न कुनै आन्दोलनको अनुभव गरेको छ । तर, यो पुस्ता ‘नेट-सेन्ट्रिक’, परिणाममुखी र महत्त्वाकाङ्क्षी भएकाले शासन र शासकप्रति असहिष्णु बनेको छ । सूचना–प्रविधि र सामाजिक सञ्जालमा हुर्किएको यो पुस्ताको मनोविज्ञान बुझ्न सरकार र नेतृत्व असफल भएको प्रमाणित भयो ।
ऐतिहासिक असफलता र शासकको अहङ्कार
यो विद्रोहलाई रोक्न सरकारसँग आवश्यक रणनीति थिएन । न त सुरक्षा संयन्त्रमा पर्याप्त तयारी थियो । जेन-जेड पुस्तालाई सामान्य विरोधीको रूपमा हेरेर कठोर बल प्रयोग गर्नु ऐतिहासिक असफलता हो ।
शासक वर्गको रवाफ, नेताका सन्तानको मस्ती, शक्तिको दुरुपयोग-यी सबै कारणले युवाले यो आन्दोलनलाई केवल विरोध होइन, विद्रोहको रूप दिएका हुन् । यसले देखायो, नेपालको राजनीतिक नेतृत्व नयाँ पुस्ताको मनोविज्ञान बुझ्न असफल भयो ।
यति मात्रै होइन, संसद अधिवेशन चलिरहेको बेला जेन जेड आन्दोलनको विषयमा गहिरो बहस भएको भए सडक तात्ने सम्भावना न्यून हुन्थ्यो । तर शासकीय वृत्त र दलीय नेताहरू आफ्ना गुटगत रमितामा व्यस्त हुँदा संसदले नागरिकको आक्रोशलाई सम्बोधन गर्न सकेन । यस मौनताले आन्दोलनलाई अझ ठूलो स्वरूप दिन मद्दत गर्यो ।
निष्कर्ष
आजको आन्दोलनले तीन स्पष्ट पाठ दिएको छ: पहिलो प्रविधिमाथि असंवेदनशील प्रहारले अस्तित्व सङ्कट अनुभव गर्ने पुस्ता सजिलै विद्रोहमा उत्रन्छ । दोस्रो, सर्वत्र व्याप्त भ्रष्टाचार अब सहनशीलताको सीमा नाघिसकेको छ । र, तेस्रो देश निर्माण गर्ने चेत बोकेको पुस्तालाई बेवास्ता गर्नु राष्ट्रकै भविष्यसँग खेलबाड हो ।
राजनीतिक नेतृत्व र प्रशासनले परिस्थितिको गम्भीरता नबुझी दमनमार्फत समाधान खोज्दा सङ्कट झन् गहिरिएको छ । गृहमन्त्रीलगायत सुरक्षा कमाण्ड सम्हालेका अधिकारीहरूले तत्काल राजीनामा दिनुपर्छ, प्रधानमन्त्रीले माफी माग्दै समाधानको मार्ग खोल्नुपर्छ । यसैगरी, आन्दोलनकारी युवाले पनि संयम अपनाई आफ्नो न्यायोचित मागलाई शान्तिपूर्ण तरिकाले अघि बढाउनुपर्छ ।
जेन-जेड आन्दोलन केवल एउटा प्रतिबन्धविरुद्धको प्रतिरोध होइन, यो राज्य र नागरिकबीचको नयाँ सामाजिक करार खोज्ने चिच्याहट हो । यदि यसलाई निष्कपट ढङ्गले सम्बोधन गरिएन भने आजको दिन मात्र होइन, भोलिका दशकहरू पनि नेपालको इतिहासमा अन्धकारमय अध्यायका रूपमा अङ्कित हुनेछ ।
राजनीतिक नेतृत्व र प्रशासनले परिस्थितिको गम्भीरता नबुझी दमनमार्फत समाधान खोज्दा सङ्कट झन् गहिरिएको छ । गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएका छन् र मन्त्रिपरिषद्ले जेन जेड प्रदर्शनमा भएको अत्याधिक बल प्रयोगका विषयमा छानबिन समिति बनाउने निर्णय गरेको छ । तर सुरक्षा कमाण्ड सम्हाल्ने नेतृत्वलाई कसरी जिम्मेवार बनाउने ? यो अहम् प्रश्न हो । प्रधानमन्त्रीले माफी माग्दै समाधानको मार्ग खोल्नुपर्छ । यसैगरी, आन्दोलनकारी युवाले पनि संयम अपनाई आफ्नो न्यायोचित मागलाई शान्तिपूर्ण तरिकाले अघि बढाउनुपर्छ ।
जेन-जेड आन्दोलन केवल एउटा प्रतिबन्धविरुद्धको प्रतिरोध होइन, यो राज्य र नागरिकबीचको नयाँ सामाजिक करार खोज्ने चिच्याहट हो । यदि यसलाई निष्कपट ढङ्गले सम्बोधन गरिएन भने आजको दिन मात्र होइन, भोलिका दशकहरू पनि नेपालको इतिहासमा अन्धकारमय अध्यायका रूपमा अङ्कित हुनेछ ।







