काठमाडौँ । जेन जेड आन्दोलनपछि देशभर चर्किएको तनावलाई सम्बोधन गर्न नेपाली सेनाले मध्यराति सैनिक मुख्यालय जंगीअड्डामा जेन जेड प्रतिनिधिसँग छलफलको तयारी गरेको छ।
सैनिक उच्च स्रोतका अनुसार यो छलफल प्रारम्भिक मात्र हुनेछ भने औपचारिक वार्ता भोलि राष्ट्रपति तथा सेनाका परमाधिपति रामचन्द्र पौडेलको उपस्थितिमा हुनेछ। सेनाले यसलाई जेन जेड युवाको माग र धारणा बुझ्ने अवसरका रूपमा अर्थ्याएको छ।
यसअघि राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै आन्दोलनकारीलाई संयमित रहन र संवादमार्फत समाधान खोज्न आग्रह गरेको थियो भने सेनाले पनि विज्ञप्ति निकाल्दै संवादबाट मात्र निकास सम्भव हुनेमा जोड दिएको छ।
आन्दोलन उग्रिँदै गएपछि सोमबार मात्रै कम्तीमा १९ जनाको मृत्यु र २०० भन्दा बढी घाइते भएका थिए। मंगलबार कर्फ्यूबीच संसद भवन, सिंहदरवार र सर्वोच्च अदालतलगायत स्थानमा आगजनी भएको थियो। स्थिति नियन्त्रणमा लिन राति १० बजेदेखि नेपाली सेना सडकमा उत्रिएको थियो।
अब हुने मध्यरातिको छलफलपछि भोलि हुने राष्ट्रपतिको उपस्थितिसहितको औपचारिक वार्ता नै निर्णायक हुने अपेक्षा गरिएको छ।







