काठमाडौं । देशभर देखा परिरहेका सुरक्षा चुनौतीबीच नेपाली सेनाले नागरिकलाई सतर्क रहन र सुरक्षामा सहयोग गर्न अपिल गरेको छ।
सेनाले विज्ञप्ति जारी गर्दै विभिन्न स्थानमा उच्छृङ्खल तत्वले लुटपाट, आगजनी तथा जीउधनको क्षति गर्ने उद्देश्यले विध्वंसात्मक गतिविधि देखिएमा तुरुन्तै सेनाको हटलाइन नम्बर ९८६३०२९०२९ मा वाइबर वा ह्वाट्सऐप मार्फत सन्देश पठाई जानकारी दिन आग्रह गरेको छ।
स्थानीय समुदायलाई अवाञ्छित गतिविधि देखिए सुरक्षा निकाय पुग्नु अगावै एकजुट भई निगरानी (छिमेक पहरा) गर्ने, खबर आदान-प्रदान गर्ने र आफ्नो टोल-छिमेक सुरक्षित राख्न पनि सेनाले आह्वान गरेको छ।
यस्तै, केही तत्वले सामाजिक सञ्जालमा भ्रामक खबर फैलाई त्रास सिर्जना गर्ने प्रयास गरिरहेकाले नागरिकले यस्ता गतिविधिलाई निस्तेज पार्दै आफ्नो क्षेत्रबाट सही खबर मात्र सम्प्रेषण गर्न सहयोग पुर्याउन सेनाले अनुरोध गरेको छ।
नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरू शान्ति-सुरक्षा कायम गर्न दिनरात खटिरहेको जानकारी समेत सेनाले दिएको छ।
जेन जेडको दुई दिनको आन्दोलनपछि देखा परेको परिस्थितिलाई नियन्त्रणमा लिन नेपाली सेनाले मंगलबार राति १० बजेदेखि सुरक्षा कमाण्ड आफ्नो नियन्त्रणमा लिएर खटिएको छ।







