काठमाडौँ । जेन जेड आन्दोलनपछि उत्पन्न अराजक परिस्थिति नियन्त्रणका लागि नेपाली सेनाको पूर्वी पृतनाले कोशी प्रदेशका विभिन्न जिल्लामा व्यापक गतिविधि सञ्चालन गरेको छ। सेनाले विशेष गरी झापा, मोरङ र सुनसरी जिल्लामा तोडफोड, आगजनी र लुटपाट हुन नदिन निर्णायक भूमिका खेलेको जनाएको छ।
सेनाले सुनसरीको दुहवीस्थित राष्ट्रिय वाणिज्य बैङ्कसहित विभिन्न वित्तीय संस्थामा गस्ती गरेर सम्भावित लुटपाट रोक्दै जनधनको क्षति हुनबाट जोगाएको छ। प्रदर्शनकारीबाट प्रहरीका हतियार लुटिएको घटनापछि झापाको बिर्तामोड, सुनसरीको इटहरी र मोरङको लेटाङ क्षेत्रमा संकलन अभियान चलाइएको छ। स्थानीय जनता, मानव अधिकारकर्मी र पत्रकारमार्फत केही हतियार सेनालाई बुझाइएको छ।
मोरङको विराटनगरमा नेपाल आयल निगमको डिपोमा आगजनीको प्रयासलाई असफल बनाउँदै ठूलो क्षति हुनबाट बचाइएको छ। झापाबाट परिचालित सेनाले बेलडाँगीस्थित सशस्त्र प्रहरी सुरक्षा पोष्टबाट प्रहरीहरूलाई उद्धार गरेको छ भने धरानको भाटभटेनी स्टोरमा स्थानीय, वारुणयन्त्र कर्मचारी र सेनाको सहकार्यमा एक जनालाई सकुशल उद्धार गरिएको छ।
सुनसरीको झुम्कास्थित कारागारबाट कैदी बन्दीहरू बलपूर्वक भाग्न खोज्दा संयुक्त सुरक्षा फौज परिचालन भई २१८ जनालाई नियन्त्रणमा लिएर कारागार प्रशासनलाई बुझाइएको छ। त्यहाँ थप सुरक्षाका लागि प्रहरीलाई तैनाथ गरिएको छ।
प्रदेशका सबै जिल्लामा सरकारी तथा निजी संरचनामा थप क्षति हुन नदिन पिकेटिङ र गस्ती तीव्र पारिएको छ। लम्की–दुहबी क्षेत्रमा भारतीय नम्बर प्लेट भएका मोटरसाइकलमा आएका शङ्कास्पद समूहले लुटपाट गर्ने प्रयास गरेको सूचनापछि सेनासहितको संयुक्त फौज परिचालित भई सुरक्षा प्रदान गरिएको छ।
यससँगै क्षति भएका संरचनाको मूल्याङ्कन कार्य भइरहेको छ। सदरमुकामदेखि स्थानीय बस्तीसमेतमा सेना तैनाथ भई जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउने कार्य जारी रहेको पूर्वी पृतनाले प्रशासनलाई जानकारी दिएको छ ।
सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सुरु भएको जेन जेड आन्दोलन हिंसात्मक मोडतर्फ जाँदा कोशी प्रदेशमा समेत आगजनी, तोडफोड र कैदी बन्दी भाग्ने जस्ता गतिविधि देखिएका थिए। नेपाली सेनाको सक्रियताले ती घटनालाई नियन्त्रणमा लिन महत्त्वपूर्ण भूमिका खेलेको छ।








