काठमाडौँ। नेकपा एमालेको सचिव योगेश भट्टराईले पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
जेन जेड आन्दोलनले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलेपछि सचिव भट्टराईले पार्टी नेतृत्वमा पनि पुनर्गठनको प्रस्ताव राखेका हुन् ।
उनले विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरेर भएका कमजोरीको समीक्षा गरेर गल्तीप्रति आत्मालोचित हुनुपर्ने बताएका छन्। उनले लोकतान्त्रिक र संवैधानिक मान्यता अनुरूप निकास निकाल्नुपर्ने भन्दै जेन जेडले अघि सारेका मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गर्न अपिल समेत अपिल गरेका छन् ।
उनले भनेका छन्, ‘हामी यतिवेला इतिहासकै गम्भीर संकटको अवस्थामा छौ । देश र समाज भयानक अस्थिरतामा छ । हामी सबै तनावमा छौ । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाउँमा पुर्याउँदैन ।’
यी हुन् भट्टराइले सारेको १० प्रस्ताव
१. विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरौँ हामीबाट भएका कमजोरीको समीक्षा गरौँ । गल्तीप्रति आत्मालोचित होऔँ ।
२. पार्टी सङ्गठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौँ । यो काम होसियारी पूर्वक गरौँ । जसले हाम्रो पार्टी एकता कायम गरोस् ।
३. पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागिता सुनिश्चित गरौँ ।
४. पार्टीका आन्तरिक प्रक्रियाहरूलाई पूर्णतः पारदर्शी र लोकतान्त्रिक बनाऔँ ।
५. जनतामा जाऔँ, जनतालाई सुनौँ र त्यस अनुसार निर्णय गरौँ ।
६. लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानुनको शासन यो जबजको आत्मा हो, यसबाट दायाँ/बायाँ नजाऔँ ।
७. खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ । नेपालको हित चिताउने सबैसँगको समन्वयबाट यो काम सम्पन्न गर्ने अठोट गरौँ ।
८. हिमाल, पहाड, तराई, सबै जात, जाति र भाषा, भाषीबिचको एकतालाई बलियो बनाऔँ ।
९. देशभित्रको आन्तरिक सहमति अनि संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्दछ । विश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नु पर्दछ । यही आधारमा अन्तर्राष्ट्रीय समुदायलाई आह्वान गरौँ ।
१०. जेन जीले समूहले अघि सारेका भ्रष्टाचार र बेथिति अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौँ ।







