काठमाडौँ। निजी वायु सेवा कम्पनीहरूले आज बुधबारदेखि सबै आन्तरिक उडान बन्द गरेका छन् । दुई दिनयता उत्पन्न विषम परिस्थितिका कारण सबै उडान बन्द गरिएको उनीहरूको भनाइ छ ।
निजी वायु सेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले बुधबार विज्ञप्ति जारी गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएपछि मात्र उडान पूर्ववत् सञ्चालनमा आउने जनाएका छन् ।
मुलुकमा सोमबार र मंगलबार भएका आन्दोलन र हिंसाका घटनाका कारण यात्रुहरूलाई विमानस्थल आवतजावतका लागि बाधा उत्पन्न भएको देखिएका कारणले विमानस्थलहरूबाट हुने उडान सबै बन्द गरिएको संघले जनाएको छ ।
‘विमानस्थल खुल्नासाथ संघका सदस्य वायुसेवा कम्पनीहरूले आफ्ना उडानहरू पूर्ववत् सञ्चालन गर्नेछन्,’ विज्ञप्तिमा छ, ‘सम्पूर्ण यात्रुहरूलाई सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी समयमा नै विमानस्थल पुग्न सहयोग गरिदिन अनुरोध छ ।’
संघमा बुद्ध एयर, यती एयरलाइन्स, सिम्रिक एयरलाइन्स, तारा एयर, सीता एयर, समिट एयर, एयर डाइनेस्टी, माउन्टेन हेली सर्भिसेस, प्रभु हेलिकप्टर्स, सिम्रिक एयर लगायत वायुसेवा कम्पनी सदस्य छन् ।







