काठमाडौँ। सोमबार र मंगलबार दुई दिन भएको जेन जेड आन्दोलनको क्रममा २५ जनाको मृत्यु भएको छ।
सुरक्षाकर्मी र प्रदर्शनकारी गरेर सात सय घाइते भएकामध्ये चार सय १३ जना उपचारपछि डिस्चार्ज भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार एक सय ९७ जनाको विभिन्न अस्पताल उपचार भइरहेको छ।
मन्त्रालयका स्रोतका अनुसार बुधबार बिहानसम्म सुरक्षाकर्मी र प्रदर्शनकारी गरेर २५ जनाको मृत्यु भएको हो।
तथ्यांक अनुसार सबैभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा आठ जनाको मृत्यु भएको छ। त्यसैगरी, सिभिल अस्पतालमा छ, एभरेष्ट र फ्रन्टलाइन अस्पतालमा तीन तीन जनाको मृत्यु भएको छ।
काठमाडौँ मेडिकल कलेज सिनांमगल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई दुई जनाको मृत्यु भएको छ भने त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ।
सिभिल अस्पतालमा उपचारका लागि पुगेका दुई सय ४९ घाइतेमध्ये १५ जनाको शल्यक्रिया गरिएको छ। अन्य नौ जनाको शल्यक्रिया गर्ने योजना छ।
ट्रमा सेन्टरमा ७१ जना घाइते भर्ना भएकामा मध्य ११ जनाको शल्यक्रिया गरिएको छ।







