लामिछानेको अप्रत्याशित रिहाइपछि देशभरका कारागारमा विद्रोह भड्कियो, हजारौँ कैदी भागे, अदालतमा समेत आगजनी, सुरक्षाको कमजोरी र राजनीतिक जिम्मेवारीबारे गम्भीर प्रश्न उठ्दै देशभर असुरक्षा र त्रासको वातावरण चर्किँदै !
काठमाडौँ । आन्दोलनरत जेन जेडको दबाबबीच सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछाने अप्रत्याशित रूपमा जेलबाट बाहिरिएपछि देशभरका कारागारहरू अशान्त बनेका छन् । लामिछानेको रिहाइको भिडिओ रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले सामाजिक सञ्जालमा सार्वजनिक गरेसँगै राजनीतिक र कानुनी बहस तीव्र भएको छ ।
रास्वपाका नेता दीपक बोहराले सामाजिक सञ्जालमार्फत “रवि दाइ निस्किनु भयो, टाइगर इज ब्याक अगेन” भन्दै खुशी व्यक्त गरे । राजधानीदेखि जिल्ला स्तरका जेलहरूमा तोडफोड र भाग दौड बढ्दै जाँदा समाज अझ असुरक्षित बन्दै गएको नागरिकहरूले बताइरहेका छन् ।
यद्यपि रवि लामिछानेले गृह मन्त्रालयको पत्रका आधारमा मात्र आफू रिहा भएको बताई सकेका छन् । उनले पत्र नै सार्वजनिक गर्दै आफूलाई रिहाइ गरेको बताएका हुन् ।
यसैबीच, डिल्लीबजार जेलमा भाग दौडको क्रम चल्दा दीपक मनाङे भने बाहिर निस्कन अस्वीकार गरेका छन् । तर, केन्द्रीय कारागार सुनधाराबाट भने नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नेता टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेक नारायण पाण्डेसहित कैदीबन्दीहरु फरार भएका छन् । प्रहरी स्रोतका अनुसार, रातभरको होहल्ला र तोडफोडपछि प्रहरी कारागार छोड्न बाध्य भए र त्यसकै मौका पारी कैदीबन्दीहरु भागेका हुन् ।
उक्त कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका थिए । कैदीबन्दीहरुले आफूहरू पनि बाहिर निस्कन पाउनु पर्ने भन्दै आगजनी गरेका हुन् । नेपाली सेनाले कारागारमा आगो लगाएपछि त्यहाँ रहेका कैदीलाई अन्यत्र स्थानान्तरण गरिसकेको छ ।
अधिकांश कैदी फरार भएपछि सेना परिचालन गरेर नियन्त्रणमा लिइए पनि सुरक्षाको कमजोरी र जिम्मेवारी कसको भन्ने प्रश्नले राजनीतिक र सामाजिक वृत्तमा नयाँ बहस चर्काएको छ ।
अहिलेसम्म कुन कुन ठाउँ कति कैदी भागे ?
यो समाचार तयार पार्दासम्म देशभर रहेका विभिन्न कारागारबाट हजारौँ कैदीहरू भागेका छन् । मंगलवार राति रौतहटको गौर कारागारबाट फरार रहेका कैदीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले धमाधम पक्राउ गरिहरेको छ । कारागार भत्काएर भागेका १३ जना कैदीलाई आज बिहान सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विनोद खड्काले जानकारी दिए । उनका अनुसार एक सय ९१ कैदी रहेको सो कारागारभित्र अहिले ६१ जना छन् ।
प्रजिअ खडकाले अन्य कैदीहरूको पनि खोजी कार्य भइरहेको बताए । उनका अनुसार अहिले जिल्लाको सहरी क्षेत्रमा नेपाली सेना खटेपछि वातावरण शान्त बनेको छ ।
यस्तै दाङस्थित तुलसीपुर कारागारबाट मंगलबार साँझ सामूहिक रूपमा कैदी भागेपछि सनसनीपूर्ण अवस्था सिर्जना भएको थियो । हिजो साँझ साढे ५ बजेतिर कारागारको ‘ख’ ब्लकमा रहेका १२४ जना कैदी बन्दीले मूल गेटमा तोडफोड गर्दै कारागारबाट भागेका हुन् ।
कारागार प्रशासनका अनुसार, १७९ जना कैदी बन्दी राखिएको ‘ख’ ब्लकबाट १२४ जना बाहिरिएपछि हाल ५५ जना मात्र सो ब्लकमा रहेका छन् ।
कुल ४६९ कैदी बन्दी रहेको तुलसीपुर कारागारमा हाल ३४५ जना मात्रै बाँकी रहेको कारागारले जनाएको छ । कैदी बन्दीहरूले ‘नख्खु जेलबाट सबै निस्किसके, हामीलाई मात्रै किन थुन्ने’ भन्दै असन्तुष्टि जनाउँदै आन्दोलनको रूप लिएको र त्यसै क्रममा मूल गेटमा तोडफोड गरी बाहिरिएको बताइएको छ ।
स्थिति नियन्त्रणमा ल्याउन नेपाल प्रहरीले हवाई फायरसमेत गरेको थियो भने नेपाली सेनाको सहयोगमा केही फरार कैदीलाई पुनः नियन्त्रणमा लिइएको छ । सुरक्षा व्यवस्था कडा पारिएको र बाँकी फरार कैदीको खोजी तीव्र रूपमा भइरहेको प्रशासनले जनाएको छ ।
यसैगरी कास्की कारागारबाट पनि सबै कैदी बन्दी भागेका छन् । जेन जेड प्रदर्शनकारीले कारागार तोडेर कैदी बन्दी भगाएका हुन् । कास्की कारागारमा ब्लक ‘ए’ मा ४६६, ब्लक ‘बी’ मा ४८० र महिला ब्लकमा ३५ जना कैदी बन्दी छन् । यता कैलाली कारागार सबै कैदी बन्दी निस्किएका छन् ।
बाल सुधार गृहबाट २०० बढी बाल बिज्याइँकर्ता भागे
विराटनगरको बाल सुधार गृहबाट बाल बिज्याइँकर्ताहरू पनि भागेका छन् ।
जेन जेड समूहको आन्दोलनको मौका पारेर बुधबार बिहान गृहमा रहेका २०० बढी बाल बिज्याइँकर्ता भागेका हुन् ।
बाल सुधार गृहमा २ सय ५५ जना बाल बिज्याइँकर्ताहरु थिए । तीमध्ये करिब ५० जना बाल सुधार गृहमा छन् । सुधार गृहको सुरक्षाका लागि २० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
डडेलधुरा कारागारबाट भागेका २६ कैदी नियन्त्रणमा
डडेलधुरास्थित जिल्ला कारागारबाट भागेका २६ जना कैदी बन्दीहरू नियन्त्रणमा लिइएको छ । नेपाली सेनाले दिएको जानकारी अनुसार, बुधबार २६ जना कैदीलाई नियन्त्रणमा लिइएको हो । सोमबार र मंगलबार भएको जेन जेडको प्रदर्शनपछि देशभरका विभिन्न कारागारबाट कैदी बन्दीहरू भागिरहेका छन् ।
यस्तै तुलसीपुर कारागारबाट भागेका ४० कैदी बन्दीलाई पक्राउ गरिएको छ । सेनाको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको कारागार कार्यालय तुलसीपुरका प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिए ।
आज र हिजो कारागारबाट कैदी बन्दी भागेका थिए । आज बिहान मात्रै २५३ कैदी बन्दी भागेका थिए । तीमध्ये ४० जनालाई पक्राउ गरिएको हो । आज भागेका मध्ये २१३ र हिजो भागेका १२४ गरी ३३७ जना अझै फरार रहेको उनले बताए । भाग्नेहरू सबै पुरुष कैदी हुन् ।
कारागारमा जम्मा ४६९ कैदी बन्दी थिए । तीमध्ये महिला कैदीहरू भने भागेका छैनन् । कैदीहरूले कारागार तोडफोड गरी भागेका थिए । सेनाले हवाई फायर गर्दागर्दै पनि उनीहरू भाग्न सफल भएका थिए ।
कारागारबाट भागेका कैदी बन्दीले गरे अदालतमा पुगेर आगजनी
कपिलवस्तु कारागारमा रहेका ४३१ कैदी बन्दीहरूले मंगलबार बिहान कारागारको गेट तोडेर भागेका छन् । बिहान करिब ६ बजेतिर कारागारका २ ब्लकमा रहेका ४५९ कैदी बन्दीमध्ये ४ सय ३१ जना भागेका हुन् । सो कारागारका २ ब्लकमा २८ जना कैदी बन्दीहरू भने कारागारबाट नभागेको कारागारले जनाएको छ ।
कारागारबाट भागेका कैदी वन्दीले जिल्ला अदालत कार्यालय पुगेर अदालत कार्यालयका विभिन्न कोठाहरूमा तोडफोड तथा आगजनी गरेका छन् । बेल्चा, हथौडा, पेट्रोल लगायतका सामाग्री बोकेर आएका कैदी वन्दीहरूले अदालतमा आगजनी गरेका हुन् । आफूहरूको मुद्दाका सबै मिसिल तथा कागजपत्रहरू यसै अदालतमा रहेको हुँदा सो नष्ट गर्न आफूहरूले आगजनी गरेको एक कैदीले बताए ।
रवि लामिछाने कारागारबाट निस्किएसँगै नेपालको कारागार प्रणालीमा गम्भीर संकट उत्पन्न भएको छ । राजधानीदेखि जिल्ला स्तरका जेलसम्म फैलिएको विद्रोहले हजारौँ कैदी बन्दी फरार भएका छन्, जसले सुरक्षाको कमजोरी, राज्यको जिम्मेवारी र राजनीतिक हस्तक्षेपबारे गहिरो प्रश्न खडा गरेको छ ।
गौर, तुलसीपुर, कास्की, कैलाली, कपिलवस्तु लगायतका कारागारहरूबाट सामूहिक रूपमा कैदी फरार हुँदा कानुन र न्याय प्रणालीको विश्वासनीयता धरापमा परेको विज्ञहरू बताउँछन् ।







