काठमाडौँ l नेपाली सेना लगायतका सुरक्षा निकाय परिचालन भएपछि आज बिहान १०:३० बजेदेखि साँझ ६ बजेसम्म देशभर सुरक्षासम्बन्धी महत्त्वपूर्ण गतिविधि भएका छन्।
काभ्रेपलान्चोकको बनेपा-९ नयाँ बस्तीमा फेला परेका ८ वटा सकेट बमलाई नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ।
त्यसैगरी, सुनधारा केन्द्रीय कारागारबाट भागेका ४ जना कैदी, डोटीको दिपायल सिलगढी बाल सुधार गृहबाट भागेका ३ जना, धादिङको गजुरीस्थित कारागारबाट फरार ३९ जना र बाँकेको डडुवा जयन्दु बाल सुधार गृहबाट भागेका १६ जना बाल बन्दीलाई नियन्त्रणमा लिइएको छ। बाँके नेपालगञ्ज जिल्ला कारागारमा होहल्ला र आगजनी गर्दै बाहिर निस्कन खोजेका कैदी बन्दीलाई समेत नियन्त्रणमा लिइएको छ। सो क्रममा एक जना कैदी घाइते भएका छन्।
यसैबीच, ललितपुरको भैसेपाटीस्थित प्रहरी चौकीमा स्थानीयवासीले सरसफाइ गरी प्रहरीलाई स्वागत गरेका छन्।
सुरक्षा अभियानअन्तर्गत हालसम्म विभिन्न स्थानबाट ९७ नाल हतियार बरामद गरिएको सुरक्षा निकायले जनाएको छ।








