काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा जेन जेड प्रदर्शनका क्रममा कारागारबाट भागेका दुई सय बढी कैदीबन्दी पक्राउ परेका छन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहानसम्म कारागारबाट भागेका २ सय ७३ कैदीबन्दीलाई पक्राउ गरिएको छ ।
उनीहरू मध्ये कतिपय आफैँ सम्पर्कमा आएका थिए भने धेरैजसोलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका समेत गरेर अहिलेसम्म सुदूरपश्चिमका ९ जिल्ला कारागारमा पाँच सय ५७ जना कैदीबन्दी रहेका छन् ।
जेन जेड आन्दोलनमा प्रदर्शनकारीको सहयोगमा कैलालीसहितका जिल्ला कारागारबाट एक हजार चार सय ४५ कैदीबन्दी भागेका थिए ।
उनीहरू मध्ये शुक्रबार बिहानसम्म दुई सय ७३ जना पक्राउ गरिए पनि एक हजार एक सय ७२ जना भने फरार छन् ।
उनीहरूको खोजीका लागि प्रहरी परिचालन भइसकेका छन् । जिल्ला कारागारहरूले सार्वजनिक सूचना जारी गर्दै कैदी बन्दीहरूलाई सम्पर्कमा आउन आग्रह गरेका छन् ।







