काठमाडौँ । वैज्ञानिक समाजवादी पार्टी नेपालले जेन जेड विद्रोहलाई प्रतिगमनमा लैजाने षडयन्त्र चरम उत्कर्षमा पुगेको जनाएको छ ।
सके संरचनागत प्रतिगमनमा लैजाने वा बढीमा सीमित बनाउने षड्यन्त्र भइरहेको सो पार्टीको शंका छ ।
महासचिव आहुतिले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘महान् विद्रोहलाई प्रतिगमनले खेलाउँदै यथास्थितिमा पछाडि धकेल्ने सम्भावना तीव्र भएको छ । महान् विद्रोहलाई सके संरचनागत प्रतिगमनमा लैजाने वा बढीमा सीमित बनाउने षड्यन्त्र चरम उत्कर्षमा छ ।’
आहुतिले जेन जेड विद्रोहको उद्देश्य र भावना संसदीय चुनावका लागि नभएको पनि जनाएका छन् । ताजा जनादेशका लागि अहिले अन्तरिम सरकार गठनको प्रयास भइरहेका बेला आहुतिले त्यसले नेपालको संकट समाधान हुन नसक्ने जनाएका छन् ।
आहुतिले भनेका छन्, ‘यहाँ प्रस्ट हुनै पर्दछ कि जेन जेड विद्रोहको उद्देश्य र भावना एक थान संसदीय सरकार परिवर्तन र एक थान संसदीय चुनावको मञ्चन कदापि थिएन र हुन सक्दैन, किनभने त्यसरी नेपालको समाजको संकट समाधान हुनै सक्दैन ।’







