काठमाडौँ । नयाँ प्रधानमन्त्री नियुक्त भइसकेको अवस्थामा समेत केही मन्त्रालयहरूले मन्त्रीहरूको नाम र फोटो नफेरेको विषयमा समाचार सार्वजनिक भएपछि, तत्कालै ती मन्त्रालयहरूले आफ्ना वेबसाइट तुरुन्तै अद्यावधिक गरेका छन् ।
प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएपछि, आगलागीमा परी ध्वस्त बनेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयलगायत डेढ दर्जनभन्दा बढी मन्त्रालयले आफ्नो वेबसाइट अपडेट गरिसकेका थिए । तर आधा दर्जन मन्त्रालय भने अद्यावधिक गर्न ढिला गरेका थिए । यस विषयमा आलोचना उठेपछि प्रशासन डटकमले समाचार सार्वजनिक गरेको थियो जसको एक घण्टामै पाँच मन्त्रालयले तत्कालै मन्त्रीको फोटो हटाएर प्रधानमन्त्री सुशीला कार्कीको नाम राखिसकेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाहेक अधिकांश मन्त्रालयले आफूले ‘लेट’ गरेको काम सच्याउँदै वेबसाइट अद्यावधिक गरेका छन् । मन्त्रालयका प्रविधि शाखाले हतार–हतार पुराना सामग्री हटाएर प्रधानमन्त्री कार्कीको नाम र तस्बिर राखेपछि नागरिक स्तरमा केही सकारात्मक प्रतिक्रिया देखिएको छ ।
अघिल्लो समाचार सार्वजनिक भएपछि कतिपय कर्मचारीहरूले आलोचना गरे पनि मिश्रित प्रतिक्रिया प्राप्त भएका छन् । एक कर्मचारीका अनुसार, परिवर्तनलाई सहज बनाउनुपर्ने ठाउँमै ढिलासुस्ती हुनु विडम्बना हो । उनका भनाइमा, कामचोर र स्वार्थ समूहसँग जोडिएका कर्मचारीहरूले बहाना बनाउन कुरेरै बसेका हुन्छन्। “ध्वस्त भएका डेढ दर्जन कार्यालयले तत्काल अपडेट गर्न सक्दा सख्ये अवस्थामा रहेका आधा दर्जन मन्त्रालयले किन सकेनन् त? राति र शनिबार अन्यलाई नहुने तीनलाई मात्रै हुने ?” ती कर्मचारीको भनाइ छ ।
त्यस्तै, कर्मचारीहरूको स्वार्थपूर्ण प्रवृत्तिलाई प्रश्रय दिने केही सीमित कर्मचारीका कारण सिङ्गो कर्मचारीतन्त्र बदनामित भएको अर्का कर्मचारीको गुनासो छ । “कर्मचारी परिवर्तन चाहँदैनन् भन्ने आक्षेप यही प्रवृत्तिका कारण आएको हो । तर वास्तविकता के हो भने, आफ्ना स्वार्थका लागि यस्ता कर्मचारी रङ्ग बदल्न पनि ढिला गर्दैनन्,” ती कर्मचारीले टिप्पणी गरे ।
फेसबुकमा अन्टसन्ट लेखेर बस्न सक्नेहरू कार्यालयका सुधारका विषयमा लेख्दा सबैभन्दा बढी सक्रिय हुने तर काम परेपछि दुम लुकाएर भाग्ने उनको भनाई छ ।
सामान्य देखिने यस्ता प्रविधिगत ढिलाइले जनतामा असन्तोष बढाउने गरेको छ । नागरिकहरू भन्छन्— जबसम्म मन्त्रालयहरू बहानामा व्यस्त रहन्छन्, तबसम्म समयमै सेवा प्राप्त गर्ने कुरा असम्भव हुन्छ । “मन्त्री बदलिन्छन्, सरकार बदलिन्छ तर ढिलासुस्ती र बहानाबाजी भने कहिल्यै बदलिँदैन,” एक कर्मचारीले नै स्वीकार गरेका छन् ।
यी हुन् समाचार प्रकाशन भएको एक घण्टामै मन्त्रीको नाम अपडेट गर्ने मन्त्रालय





यी हुन् अपडेट हुन बाँकी थप दुई मन्त्रालय









