काठमाडौँ । काँग्रेस नेता प्रदीप पौडेलले पार्टी पुनर्गठन गर्ने हो भने सबैले पद छोडेर संयोजन तोकेर जानुपर्ने प्रस्ताव गरेका छन् ।
अहिले कै नेतृत्वबाट काँग्रेस अब अघि नबढ्ने भएकाले पुनर्गठनका लागि अब नयाँ ढंगले अघि बढ्नुपर्ने बताए ।
यो विषयमा आफूले पार्टीका अन्य नेताहरूसँग पनि छलफल गरिरहेको पौडेलले बताए ।
‘अब महाधिवेशन नहुँदा सम्म पार्टीको संयोजक तोकेर पार्टी पुनर्गठन गर्नुपर्छ । यथास्थितिको नेतृत्वमा अब पार्टी अघि बढ्न सक्दैन’ उनले भने,’ यसका लागि सबैले पदबाट राजीनामा गरेर एउटा नेतालाई संयोजन तोक्ने र सबै सदस्य भएर काम गर्नुपर्छ ।’
६ महिनाभित्र चुनावमा जानुपर्ने भएकाले अहिले यो बीचमा महाधिवेशन गर्न समेत समस्या हुने भएकाले अब नेतृत्वको विषयमा निर्णयमा पुगेर अघि बढ्नुपर्ने बताए ।
परिवर्तनलाई आत्मसात् गर्दै अघि नबढ्दा काँग्रेस माथि उठ्न नसक्ने उनले बताए।
काँग्रेसभित्र महामन्त्री गगन थापाले पनि सोमबार पार्टी पुनर्गठनका लागि आफू महामन्त्री पद त्याग्न तयार रहेको धारणा अघि सारेका थिए ।







