काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले नेपालमा शिक्षा क्षेत्रलाई समयसापेक्ष र विद्यार्थीमैत्री बनाउन तीन निर्णायक पहल अघि सारेका छन्। सोमबार मन्त्री पुनले विद्यालयदेखि विश्वविद्यालयसम्म प्रत्यक्ष प्रभाव पार्ने सुधारात्मक कदमहरू सार्वजनिक गरेका हुन्।
उनले पहिलो पहलस्वरूप सामुदायिक माध्यमिक विद्यालयका प्रत्येक विद्यार्थीलाई कम्प्युटर शिक्षा पहुँचमा ल्याउन अब देशभर अनिवार्य रूपमा कम्प्युटर शिक्षकको दरबन्दी थपिने घोषणा गरे। नेपालका धेरै विद्यालयहरू अझै डिजिटल शिक्षाबाट वञ्चित रहेको भन्दै उनले यो कदमलाई शिक्षा प्रणालीलाई आधुनिक युगतर्फ उन्मुख बनाउने महत्वपूर्ण आधार भएको टिप्पणी गरे।
दोस्रो कदममा, विश्वविद्यालयहरूले परीक्षा लिएर नतिजा प्रकाशन गर्न असामान्य ढिलाइ गर्दै आएको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मन्त्री पुनले अबदेखि बढीमा तीन महिनाभित्र परीक्षाफल निकाल्नुपर्ने व्यवस्था लागू गर्ने घोषणा गरे। उनले चेतावनी दिँदै भने, ‘समयसीमा पालना नगर्ने विश्वविद्यालयहरूको अनुदान नै रोक्का गरिनेछ।’ राष्ट्रिय परीक्षा बोर्डले तीन महिनामै पाँच लाख विद्यार्थीको नतिजा सार्वजनिक गर्न सक्ने हुँदा विश्वविद्यालयहरूलाई त्यसैलाई उदाहरणीय मान्नुपर्ने उनको भनाइ थियो।
तेस्रो पहल त्रिभुवन विश्वविद्यालय परिसरसँग सम्बन्धित छ। कीर्तिपुरस्थित मुख्य क्याम्पस क्षेत्रमा लामो समयदेखि उपेक्षित रूपमा रहेका झाडी र फोहोर हटाएर परिसरलाई व्यवस्थित र आकर्षक बनाउने अभियान अघि सारिएको छ। मन्त्री पुनले ठूला रुखहरू संरक्षण गर्दै परिसरमा सुन्दर बगैँचा र फुटपाथ निर्माण गर्ने योजना तत्काल अघि बढाइने जानकारी दिए।







