काठमाडौँ । ‘जनता म्वासा: भाषा म्वाइँ’ अर्थात् जनता रहे भाषा रहन्छ भन्ने नाराका साथ यसवर्ष ४५औँ बृहत् नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा आयोजना हुने भएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल भाषा साहित्य त:मुंज्याका अध्यक्ष रवीन्द्र खर्वुजाले यही असोज १८ र १९ गते सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए । यहाँ विगत ४५ वर्षदेखि निरन्तर हरेक वर्ष सम्मेलन हुँदै आएको छ । उहाँले दुई चरणमा सम्पन्न गरिने सम्मेलनमा पहिलो चरणमा दिउँसो साहित्य वाचन र दोस्रो चरणमा साँझ सांस्कृतिक कार्यक्रम गरिने बताए ।
सम्मेलन आयोजक समितिका सचिव राजन जतिले सम्मेलनमा प्रतियोगितात्मक साहित्य वाचन र अतिथि साहित्य वाचन हुने बताए । कार्यक्रममा साहित्य एवं भाषासम्बन्धी विज्ञहरूको सान्दर्भिक मन्तव्यसमेत राखिने उनले जानकारी दिए ।
सम्मेलन सम्पन्न गर्न ४५ सदस्यीय मूल समारोह समिति र एक दर्जनभन्दा बढी उपसमिति गठन गरेर तयारीका काम भइरहेका त:मुंज्याका प्रचारप्रसार समिति संयोजक राजकुमार लघुले जानकारी दिए ।







