काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते देशका विभिन्न भागमा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गर्न गठित जाँचबुझ आयोगको संरचना, कार्यादेश, कार्यदिशा, कार्यप्रणाली, जनशक्ति तथा सेवा–सुविधासम्बन्धी विवरण राजपत्रमा प्रकाशित भएको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो ।
कार्की नेतृत्वको आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सदस्य रहेका छन् । आयोगलाई छानबिन गरी प्रतिवेदन बुझाउन तीन महिनाको म्याद दिइएको छ ।
आयोगका अध्यक्षलाई नेपाल सरकारको मन्त्री सरहको सुविधा, सदस्यहरुलाई राज्यमन्त्री सरहको सुविधा, र आयोगको सचिवालयमा कार्यरत कर्मचारीलाई २५ प्रतिशत भत्ता प्रदान गरिने व्यवस्था गरिएको छ ।
आयोगको सचिवालयमा सहसचिवसहित सात जना कर्मचारी रहने व्यवस्था छ ।











