काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा उपभोग्य वस्तुमा हुन सक्ने मिसावटलाई लक्षित गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ। आइतबार विभागबाट खटिएको खाद्य निरीक्षण टोलीले भक्तपुरस्थित शिवम् डेरी उद्योगमा संकलीत दूध परीक्षण गर्दा प्रशोधित दूध दूषित भेटिएको पुष्टि गरेको छ।
विभागका अनुसार, संकलीत नमुनामध्ये ‘शिवम् ब्राण्ड’ को रातो प्याकेटमा रहेको प्रशोधित दूधमा न्यूट्रलाइजर (सोडियम हाइड्रोक्साइड) को उपस्थिति पाइएको हो। प्रयोगशालामा गरिएको परीक्षणपछि उक्त दूध न्यून स्तरको ठहरिएको विभागले जनाएको छ।
यससँगै कोल्ड रुममा रहेको जम्मा १,७०० लिटर दूध तुरुन्तै नष्ट गरिएको विभागले स्पष्ट पारेको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रतिनिधि, शिव डेरी प्रा.लि.का व्यवस्थापक तथा विभागका खाद्य निरीक्षण अधिकृतको रोहवरमा दूधको प्याकेट खोली ड्रेनेजमार्फत फ्याँकिएको हो। विभागले यसरी दूषित दूध बजारमा पुग्न नदिँदा उपभोक्ताले गुणस्तरहीन दूध सेवनबाट जोगिएको बताएको छ।
उद्योगलाई भविष्यमा गुणस्तर सुनिश्चित गरेर मात्र प्रशोधित दूध बजारमा पठाउन लिखित निर्देशन पनि दिइएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३४ बमोजिम विभागले यो कारबाही गरेको हो। उक्त दफामा स्पष्ट रूपमा, अनुगमन वा निरीक्षणका क्रममा सडे गलेको, कुहिएको, कीरा परेको, फोहोर मिसिएको, दूषित वा म्याद गुज्रिएको खाद्य पदार्थ भेटिएमा सम्बन्धित अधिकारीले स्थानीय प्रशासनको रोहवरमा उपयुक्त तरिकाले नष्ट गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसअघि पनि विभागले देशभर चाडपर्व लक्षित विशेष अनुगमन सञ्चालन गर्दै आएको छ। असोज ४ देखि ९ गतेसम्म मात्रै ३५१ किराना पसल, ७३ खाद्य उद्योग र २१७ होटेल-रेस्टुरेन्ट अनुगमन गरिएको विभागले जनाएको छ। सो क्रममा म्याद गुज्रिएका, लेबल अभाव भएका तथा गुणस्तरहीन वस्तुहरू जफत गरी रु। १,३८,२९१ बराबरका खाद्य सामग्री नष्ट गरिएको र ४७ थान दूषित प्रशोधित पिउने पानीका जार पनि नष्ट गरिएको जानकारी विभागले दिएको छ।
विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्य ले सम्पूर्ण उद्योगी व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम व्यवसाय सञ्चालन गर्न आग्रह गरेकी छन्। उनले गुणस्तरहीन उपभोग्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्ने जो कोहीलाई पनि ऐनअनुसार कडाइका साथ कारबाही गर्ने चेतावनी दिएकी छन्।







