दशैँमा स्वादिलो मासु र मिठाईले उत्सवको रौनक बढाउँछ, तर स्वास्थ्य जोगाउन सन्तुलित खानपान, पर्याप्त तरकारी-फलफूल, नियमित व्यायाम र सचेत जीवनशैली अत्यावश्यक हुन्छ; स्वस्थ रहँदा मात्र पर्वको मज्जा दोब्बर हुन्छ !
काठमाडौँ । नेपालीहरूको महान् पर्व दशैँ केवल पूजा र उत्सव मात्र होइन, मिठा परिकारको चाड पनि हो । यस समयमा घरघरमा रौनक फैलिन्छ, र परम्परागत खानपानले यस पर्वलाई अझ विशेष बनाउँछ । मिठो, मसिनो, चिल्लो र मसलेदार परिकारहरूले दशैँको तालमा स्वादको रङ्ग थप्छन् । तर, यी सबै स्वादको मज्जा लिँदा स्वास्थ्यमा असर नपरोस् भन्ने सावधानी अपनाउनु अत्यन्त जरुरी छ ।
दशैँको समयमा परिकारहरू विशेष रूपमा तयार गरिन्छन् । मसला बढी राखिने, चिल्लो र नुनको मात्रा सामान्यभन्दा बढी हुने, र मासुका विविध परिकार बनाइने चलन हुन्छ । शाकाहारीहरूले पनि दूध, घिउ, चिनी र अन्य मिठाईको बढी प्रयोग गर्छन् । यसरी खानपानमा असन्तुलन हुने सम्भावना बढ्छ, जसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ ।
दशैँमा स्वस्थ खानपान कसरी गर्ने ?
दशैँमा हामी प्राय: सामान्य दिनभन्दा धेरै मासु खाने गर्छौँ । मासु सेवन गर्नु स्वास्थ्यका लागि पूर्ण रूपमा नरोकिएको भए पनि अत्यधिक चिल्लो, मसला र नुन भएको मासु सेवनले पाचनमा समस्या निम्त्याउन सक्छ । उच्च रक्तचाप, मधुमेह र मोटोपन भएका व्यक्तिहरूको लागि यो जोखिम अझ बढी हुन्छ ।
पर्वको रमाइलो अवसरमा आफन्तसँग मिलेर खानपानको प्रचलन हुन्छ । तर, सन्तुलन नहोस् भने शरीरमा नकारात्मक असर देखिन सक्छ। विशेष गरी, स्वादिलो मासु खाँदा त्यससँग भात, रोटी वा चिउरा बढी खाइन्छ। यसले पेटमा भारीपन ल्याउँछ र मोटोपनको सम्भावना बढाउँछ । त्यसैले मासुसँगै हरियो तरकारी, साग, र अन्य पौष्टिक खानेकुरा पर्याप्त मात्रामा सेवन गर्नु अत्यन्त जरुरी छ ।
मासु कति र कसरी खाने ?
हाम्रो परम्परा र धर्मले दशैँको समयमा मासुलाई मुख्य परिकारको रूपमा मान्यता दिएको छ । तर, धेरै मासु पकाएर फ्रिजमा राख्ने, तताएर पुनः खाने जस्ता बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ । फ्रिजबाट निकाल्दा मात्र आवश्यक मात्रामा मासु प्रयोग गर्नु राम्रो अभ्यास हो ।
स्वस्थ व्यक्तिले पनि माछा र मासु सीमित मात्रामा मात्रै सेवन गर्नु पर्छ । पोषणविद्हरूका अनुसार, एक वयस्क व्यक्तिले दिनमा ६०-९० ग्राम मात्र मासु खाने पर्याप्त हुन्छ । तर, चाडबाडको बेलामा प्राय: यो मापदण्ड भन्दा बढी मासु खाने चलन छ। मासु खाँदा साग, मुला, अचार, फलफूल जस्ता अन्य परिकार पनि सँगै खानुपर्छ, ताकि कोलेस्ट्रोलको मात्रा नियन्त्रणमा रहोस् ।
दशैँमा स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
अत्यधिक खानपिनका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । यस्तो अवस्थामा तातोपानीको पर्याप्त सेवन, सन्तुलित खानपान, र नियमित व्यायाम आवश्यक हुन्छ । लामो समयसम्म जुवा–तास खेल्ने, वा लामो समय बस्ने बानीले स्वास्थ्यमा असर गर्छ । त्यसैले, कम्तिमा आधा घण्टा व्यायाम गर्नाले स्वास्थ्य लाभ पुग्छ ।
यसका साथै निम्न कुरामा ध्यान दिनुपर्छ:
१. प्राथमिक उपचार सामग्री जस्तै सिटामोल, जीवनजल, ब्यान्डेज घरमा राख्ने ।
२. पेट दुख्ने, झाडापखाला लागेमा जीवनजल सेवन गर्नु ।
३. बासी खाना नगरी ताजा खाना मात्रै खाने ।
४. मासुसँगै पर्याप्त फलफूल र सागसब्जी खाने ।
५. कोसेलीमा फलफूलको प्रयोग गर्ने ।
६. कागती, बेसार, अदुवा मिसाएर तातोपानी पिउने ।
दशैँमा मासुको सेवन: परम्परा र वर्तमान व्यवहार
पहिलाका दिनमा धेरै मानिससँग पैसा थिएन, त्यसैले दसैँमा मासु खानु विशेष अवसर मानिन्थ्यो । अहिले मानिसहरूले वर्षभरि पनि मासु खाइरहेका छन् । तथापि, दसैँमा मिठो मासु खाने चलन अझै कायम छ । यसै कारण, एकै पटक धेरै मासु सेवन गर्दा स्वास्थ्यमा समस्या निम्तिन सक्छ । अघिल्ला वर्षमा यसका कारण कतिपय व्यक्तिको मृत्युको समाचार पनि आएको थियो ।
दशैैँमा घर–घरमा घुम्दा, आफन्तहरूले समेत थोरै भए पनि मासु खाने आग्रह गर्छन् । यसरी थोरै थोरै गरेर पनि चाडबाडमा सामान्य दिनभन्दा धेरै मासु सेवन हुने गर्दछ यसले पाचनमा असर पुर्याउँछ, विशेष गरी जब व्यायाम नगरी केवल खानेमा केन्द्रित रहिन्छ । पोषणविद्हरूको सुझाव अनुसार, चाडबाडमा पनि शरीरलाई आवश्यक मात्रामा मात्रै मासु सेवन गर्नुपर्छ ।
मासुको पोषण र सीमित सेवन
मासुमा प्रोटिन प्रमुख तत्त्व हो । मासुमा १४-२० प्रतिशत प्रोटिन हुन्छ । उदाहरणका लागि, ५० किलोको मानिसलाई दिनमा करिब २५० ग्राम भन्दा बढी मासु आवश्यक पर्दैन । तर, दसैँमा हामी प्राय: यो भन्दा धेरै मासु खाइरहेका हुन्छौँ । शरीरमा प्रोटिन स्टोर हुँदैन, त्यसैले अनावश्यक रूपमा धेरै मासु खाँदा शरीरले उपयोग गर्न सक्दैन ।
मासु सेवन गर्दा यसका प्रकार, ताजा वा स्टोर गरिएको, रंग, गन्ध, पकाउने तरिका जस्ता पक्षहरूमा ध्यान दिनु अत्यन्त जरुरी छ ।
यस्तै मासुसँग सागसब्जी र फलफूलको संयोजन स्वास्थ्यका लागि उत्तम हुन्छ । पालुङो, रायोको साग, घिरौँला, काक्रो, सिमी, बोडी, बन्दा, ब्रोकाउली मासुसँग मिलाउँदा स्वास्थ्यमा लाभ पुग्छ । एन्टिअक्सिडेन्टयुक्त परिकार मासुमा हुने विषाक्त पदार्थलाई न्यूनीकरण गर्न मद्दत गर्छ ।
स्वास्थ्य सचेत दसैँ
दसैँमा स्वादिलो खानपिन स्वाभाविक हो । तर, धेरै मसला, नुन र चिल्लो भएको मासु अत्यधिक सेवन गर्नु राम्रो होइन । हप्ताभरि नियमित रूपमा मासु खाँदा पनि स्वास्थ्यमा असर आउन सक्छ । उच्च रक्तचाप, मधुमेह, मोटोपन भएका व्यक्तिले विशेष सावधानी अपनाउनु पर्छ ।
आजको जीवनशैलीमा मानिसको शारीरिक क्रियाकलाप घटेको छ । पहिले साइकल चढ्ने, हिँड्ने जस्ता क्रियाकलाप दैनिक जीवनको हिस्सा थिए । अहिले शारीरिक गतिविधि कम भएको छ ।
चाडपर्वमा रमाइलो र खानपिन स्वाभाविक हो । तर, सन्तुलित खानपान, पर्याप्त सागसब्जी र फलफूलको सेवन, आवश्यक मात्रामा मासु, र स्वास्थ्यकर तरिकाले पकाउने अभ्यासले हामीलाई निरोगी राख्छ ।
स्वास्थ्यसँग सम्बन्धित निर्णय शरीरलाई मापन गरेर, आफ्नो पोषण आवश्यकतालाई ध्यानमा राखेर लिनुपर्छ । मांसाहारी वा शाकाहारी भन्ने द्विविधामा नपरी, आवश्यक पोषण मिलाएर खानुपर्छ । कुन परिकार कति मात्रामा खाने, कुन प्रकारको मासु वा अन्य परिकारसँग मिश्रण गर्ने भन्ने कुरा ध्यानपूर्वक गर्नु आवश्यक छ ।
यसरी हामी दशैँको मिठास र रौनकलाई स्वास्थ्यको सन्तुलनसँग जोडेर मनाउन सक्छौँ । आफ्नै शरीरलाई मापदण्ड बनाएर, सन्तुलित र स्वादिलो खानपानमार्फत चाडपर्वको रमाइलो दोब्बर गर्न सकिन्छ ।
(पोषणविद् प्रा.डा. मनसा थापा ठकुराठी र कला नेपालसँग प्रशासन डटकमका लागि भावना हमालले गरेको कुराकानीमा आधारित)







