काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनतामा देखिएको निराशा, आवेग र अपेक्षालाई पूरा गर्न र राष्ट्रिय एकतासहितको समृद्ध र उन्नत राष्ट्र निर्माणमा लाग्न सबैलाई आह्वान गरेका छन् ।
विजया दशमीको उपलक्षमा आज शुभकामना व्यक्त गर्दै जेनजेड प्रदर्शनले ल्याएको परिवर्तनसँगै सबै पक्षका बीचको एकताबाट तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र देशलाई फेरि जन निर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष दाहालले भने, “फजुल खर्च, परम्परा र संस्कारका नाममा गरिने कुप्रथा र विकृतिबाट मुक्त भई पारिवारिक जमघट, खुसियाली आदानप्रदान र सामाजिक सांस्कृतिक सम्बन्ध विस्तारका रूपमा हर्षोल्लासपूर्वक दसैँ मनाउन म सबैलाई आग्रह गर्दछु ।”
बडादसैँले पारिवारिक मिलन, सामाजिक सद्भाव र सांस्कृतिक एकता थप मजबुत बनाउने उनको विश्वास छ । सन्देशमा भनिएको छ, “हाम्रा मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कारको संरक्षण गर्ने तथा अन्धविश्वास र भड्किलो जीवन पद्धतिलाई समयानुकूल परिवर्तन गर्नु उत्तिकै जरुरी छ ।”







