२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्येष्ठ नागरिक दिवस र जान्नैपर्ने कुराहरू

अ+ अ-

१. पृष्ठभूमि
वृद्धावस्था अथवा ज्येष्ठ नागरिक राष्ट्रका अभिभावक हुन् । ज्येष्ठ नागरिकलाई बोझ होइन कि बोधको स्रोतका रूपमा मान्नुपर्ने हुन्छ । तर वृद्ध वृद्धाको सम्बन्धमा बदलिँदो जीवनशैली, उत्तरआधुनिकवाद तथा पश्चिमा वायुका कारण नेपालमा वृद्ध वृद्धालाई हेर्ने दृष्टिकोण र मान्यता बदलिरहेको अवस्था देखा पर्दैछ । आजकालको समाज र परिस्थिति बदलिइरहेको छ । बिस्तारै संयुक्त परिवारबाट एकल परिवारको अवधारणा आइरहेको छ । जति जति वृद्धहरूको जनसङ्ख्या बढिरहेको छ, उत्तिकै वृद्धहरू समाजका बोझ बन्न थालेको अवस्था छ । कुनै बेला थियो वृद्धहरू घरपरिवारका भगवान् हुन् र भगवानको सेवा गर्न कतै जानुपर्दैन केवल आफ्ना बा आमाको सेवा गरे पुग्छ भनेर त्यही अनुरूपको सोच र व्यवहार देखा पर्ने गर्दथ्यो ।

बिस्तारै जेनेरेसनमा आएको अन्तरालले गर्दा यस्तो संस्कृति हामीले हाम्रा बच्चालाई सिकाउन पनि पाएनौँ, सिकाएनौँ र बच्चाले समेत सिक्न खोजेनन् । यी सबै कारण र प्रविधिमा आएको विकासले आजकालका बच्चाहरू अर्कै दुनियाँमा अलमलिइरहेको अवस्था छ । घरमा हजुरआमा, हजुरबा अथवा वृद्ध भएका बा आमासँग नजिकिने, उहाँहरूसँग कुराकानी गर्ने, उहाँहरूका अनुभव सुन्ने, असङ्ख्य ज्ञान प्राप्त गर्ने, धर्म संस्कृति के हो बुझ्ने, हाम्रा रीतिरिवाज र परम्परा के हुन् धैर्य भएर सुन्ने कसैलाई फुर्सत छैन । अझ बढी ज्येष्ठ नागरिकहरू बिरामी परेर निरन्तर स्याहार सुसार गर्नुपर्‍यो भने त त्यो भन्दा ठूलो सकस अरु केही हुँदैन ।

स्वभावैले बूढाबूढीहरू केही कमजोर, असक्षम, केटाकेटीजस्ता हुन्छन् र घरमा कोही नबिग्रियोस् र केही नबिग्रियोस् भनेर केही कचकच समेत गर्ने खालका हुन्छन् । जुन कुरा आजकालका बच्चा बच्चीहरूलाई अपाच्य हुन्छ र उनीहरू बूढाबूढीबाट टाढै हुन खोज्छन् । फलस्वरूप भविष्यमा छुट्टै घरबार बनाएर आफ्नो परिवार मात्र अलग भई बस्ने अवस्थामा पुग्छन् । त्यस्तो अवस्थामा बूढाबूढीलाई वृद्धाश्रममा राखिदिने, वृद्धाश्रममा राखेपछि आफ्ना सबै जिम्मेवारी पुरा भएको ठानी आफू टाढै बस्ने प्रवृत्ति समेत नदेखिएको होइन । यी र यस्ता खालका व्यवहार अहिलेको समाजमा वृद्धहरूले भोगेका समस्या हुन् । यस्तै कुराहरूलाई विचार गरी ज्येष्ठ नागरिक निर्देशिका २०६३ जारी भई नेपालमा नयाँ व्यवस्था लागु भएको छ । वास्तवमा यी सबै कुराहरूलाई यस आलेखमा समावेश गर्न स्थान अभाव हुने भएकोले सामान्य रूपमा वृद्धावस्थाका स्वास्थ्य समस्या र व्यवस्थापनका केही उपायहरू मात्र समावेश गरी यो आलेख तयार गरिएको छ ।

२. बुढ्यौली के हो ?
प्रकृतिको नियमानुसार समयको गतिसँगै दुनियाँमा सबै कुरा परिवर्तन हुँदै जान्छ । मानिस पनि जन्मेपछि शिशु, बाल्यावस्था, किशोरावस्था, प्रौढावस्थाको चरणबाट परिवर्तन हुँदै वृद्धावस्थामा प्रवेश गर्दछ । यसरी वृद्ध हुने प्रक्रिया नै बुढ्यौली हो । जेरोन्टोलोजी (वृद्धसम्बन्धी अध्ययन) ले बढी परिश्रम गर्ने, बढी तनावमा रहने र बढी रोग लाग्ने व्यक्तिलाई छिटो बुढ्यौली लाग्छ भन्दछ । यस अवस्थामा व्यक्तिका शारिरीक अङ्गहरूमा निष्क्रियता आउन थाल्छ । वास्तवमा बुढ्याइँ हुँदै जाने प्रक्रिया नै बुढ्यौली हो । तर बुढ्यौली वातावरण, खानपान, रहनसहन, परिश्रम जस्ता कुराहरूमा पनि भर पर्दछ ।

जेरोन्टोलोजिष्टका अनुसार वृद्धहरूलाई निम्न ४ समूहमा वर्गीकरण गर्न सकिन्छ । ती हुन्;

क) ६४ वर्ष भन्दा माथि– वृद्ध (ओल्ड एज)
ख) ६५–७४ वर्षसम्म– जवान बुढो (यङ्ग ओल्ड)
ग) ७५–८४ वर्षसम्म– मध्य बुढो (मिडल ओल्ड)
घ) ८४ वर्षभन्दा बढी– अति बुढो (ओल्ड-ओल्ड)

३. बुढ्यौली/ज्येष्ठ नागरिकहरूको जनसाङ्ख्यिक
जनसाङ्ख्यिक एउटा महत्त्वपूर्ण पक्ष ज्येष्ठ नागरिकहरूको संख्या पनि हो । किनकि यो वर्ग आश्रित वर्ग हो र यसले कुनै पनि देशको सामाजिक, आर्थिक तथा अन्य विविध पक्षहरूमा प्रभाव पार्दछ । आधुनिक औषधी उपचार, विज्ञानमा भएको चरम प्रगति र गुणस्तरीय जीवन शैलीका कारण मानिसको औसत आयुमा वृद्धि भई वृद्धहरूको जनसङ्ख्या बढिरहेको छ । सन् २०२१ को जनगणनाको प्रतिवेदन अनुसार नेपालमा वृद्धहरूको जनसङ्ख्या (६० वर्ष माथिको) कुल जनसङ्ख्याको १०.२१ प्रतिशत रहेको छ । यो संख्या सन् २०११ को तथ्याङ्क ८.१ प्रतिशतबाट बढेर १०.२१ प्रतिशत पुगेको हो । यसबाट अनुमान लगाउन सकिन्छ कि नेपालमा समेत वृद्धहरूको जनसङ्ख्या बढ्ने क्रम द्रुत गतिमा भइरहेको छ र यो तथ्याङ्कलाई आधार मानेर प्रक्षेपण गर्ने हो भने सन् २०५० सम्म नेपालमा ज्येष्ठ नागरिकको संख्या दोब्बर पुग्ने अनुमान गर्न सकिन्छ ।

सन् २०२१ मा जनगणना अनुसार प्रकाशित गरेको तथ्याङ्क अनुसार नेपालीको औसत आयु पुरुष ६९.२, महिला ७३.३ र औसत ७१.३ वर्ष रहेको छ । सन् २०११ मा औसत ६६.६ वर्षबाट बढेर यो अवस्थामा पुगेको हो । यो विश्वको औसत आयुको मामलामा केही कम स्थान हो । सन् २०२५ को प्रक्षेपणलाई आधार मान्दा नेपालीको औसत आयु ७०.९० वर्ष पुग्ने अनुमान छ भने यही आधारमा हेर्ने हो भने सबैभन्दा बढी हङ्कङ् ८५.७७ वर्ष र सबैभन्दा कम नाइजेरिया ५४.७८ वर्ष पुग्ने अनुमान छ । हालको दिनमा सबैभन्दा बढी औसत आयु हुने मोनाकोमा ८७.०१ वर्ष र सबैभन्दा कम चाड ५४.० वर्ष छ ।

४. बुढ्यौलीका प्रभाव वा असरहरू
सामान्यतया: मानिस ३० वर्षको भएपछि उसको शारीरिक क्षमताको विकासमा मन्दता आउन थाल्छ । त्यसपछि खानपान, वातावरण र अन्य तत्त्वहरूले गर्दा बुढ्यौली लाग्न थाल्छ । वृद्ध जनसङ्ख्याको व्यवस्थापन अर्को समस्या बन्न थाल्छ । खासगरी स्वार्थीपन, हेर्ने दृष्टिकोण, आधुनिक जीवनशैली, एकल परिवार, बसाइँ सह्राइ, शहरीकरणले गर्दा वृद्धहरूको संख्या अनुरूपको व्यवस्थापन कठिन हुन पुगेको छ । वास्तवमा वृद्धहरू घर, परिवार र समाजका अग्रज, पथ प्रदर्शक र निर्माताहरू हुन् । वृद्धहरूको घर परिवार, समुदाय र राष्ट्रमा सकारात्मक प्रभाव पर्नाले समाजको विकास हुने र राजनीतिक परिवर्तन समेत हुने गरेको पाइन्छ । अतः वृद्धहरू प्रतिको नकारात्मक भावना हटाइ समझदारी बढाउन र उनीहरूको सुव्यवस्था गरी जीवन प्रभावकारी बनाउन अहिलेको शिक्षामा व्यवस्था गर्नु जरुरी छ ।

बुढ्यौली एक प्रकृति प्रदत्त देन हो, जसलाई रोक्न सकिँदैन । उमेरको बढ्दो क्रमसँगै वृद्धहरूमा विभिन्न प्रभाव र असरहरू देखा पर्न थाल्छन् । शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक क्षमताहरू घट्न थाल्छन् र बुढ्यौलीमा निम्न लक्षणहरू देखा पर्न थाल्छन् ।

-छालाको स्वरूप, रङ्गमा परिवर्तन आउने, पातलो लचकदार हुने र चाउरी पर्ने, अनुहारमा धर्का देखिने, ४० वर्ष कटेपछि आँखाको वरपर सुन्निएको जस्तो देखिने ।
-दृष्टि कमजोर हुने, रङ्ग छुट्याउन नसक्ने, मोतीबिन्दु र आँखाका अन्य समस्या देखा पर्ने ।
-हाडजोर्नी कमजोर हुने, दुख्ने, कमजोर हुने र दाँत झर्ने ।
-टाउको ठूलो देखिने, नाक कानको लम्बाई बढ्ने ।
-पिसाब थैलीमा पिसाब जम्मा हुने क्षमता घट्ने, छिटो छिटो पिसाब लाग्ने र पिसाब छान्ने क्षमतामा ह्रास आउने ।
-सुन्ने क्षमता घट्ने ।
-मुटु र फोक्सोमा समस्या परी स्वाँ स्वाँ हुने ।
-यौन अक्षमता बढ्ने र यौन इच्छा भएर पनि सम्पर्क राख्न नसक्ने ।
-रौँ फुल्ने, शरीर कुप्रो पर्ने, फरक सोचाइ आउने । आदि

५. ज्येष्ठ नागरिकहरूको व्यवस्थापन
वास्तवमा वृद्ध हुनु कुनै अभिशाप होइन । समयको गतिसँगै कुनै दिन कुनै व्यक्ति वृद्ध हुनैपर्छ यो धु्रवसत्य छ । विभिन्न देशमा वृद्धहरूलाई हेर्ने दृष्टिकोणमा फरकपन पाइन्छ । विकसित देशहरूमा प्राय: एकल परिवार हुने कारणले त्यहाँ वृद्धहरू समस्याको रूपमा रहेका छन् । जतिसुकै सुविधा सम्पन्न व्यवस्था गरिएता पनि ३ पुस्ते परिवार एउटै छानामुनि बस्नु, रमाइलो गर्नु र सँगसँगै खाना खानु जस्तो राम्रो विकल्प अन्य हुनै सक्तैन भन्ने वृद्धहरूको मनसाय पाइन्छ ।
वृद्धहरूले पनि वृद्धावस्थामा आफ्नो स्वास्थ्यलाई, परिवार तथा समाजलाई निकै ध्यान दिनुपर्छ र आफ्नो स्वास्थ्यको हेरचाहकालागि निम्न कदम चाल्नुपर्छ ।

-धूम्रपान, मद्यपान नगर्ने, सन्तुलित खाना खाने, सरसफाइमा ध्यान दिने ।
-दैनिकरुपमा हल्का व्यायाम गर्ने वा हिंड्डुल गर्ने ।
-सामाजिक कार्यमा प्रफुल्ल भइ लाग्ने, नैराश्य नहुने ।
-वृद्धा महिलाले पनि आफ्ना प्रजनन स्वास्थ्य समस्या नलुकाई उचित उपचार गराउने ।
-सक्दो काम गर्ने र आराम गर्ने ।
-शारीरिक र मानसिक स्वास्थ्यका सिद्धान्तहरू सिक्ने ।
-शैक्षिक तालिमको फाइदा लिने ।
-सक्रिय, सक्षम, आत्मविश्वासी र उपयोगी हुने ।
-वृद्ध जीवनको व्यथित गर्न तयारी गर्ने ।
-परिवारका सदस्यहरूको परिवर्तित परिस्थिति बुझी लचकता अपनाउने ।
-नयाँ पुस्तालाई ज्ञान र सीप बाँड्ने ।
-सामाजिक योगदान दिन र समाजलाई आफ्नो आवश्यकता महसुस गराउन सक्षम छु भन्ने ।
-आफ्ना स्वास्थ्य समस्याहरू बताई स्वास्थ्य परीक्षण गराई उपचार लिने आदि ।

वृद्धहरूको व्यवस्थापन निकै चुनौतीपूर्ण कार्य हो । वृद्ध जीवन स्वस्थ पूर्ण बिताउनका लागि वृद्धहरूले पनि धेरै कुरामा सहभागिता जनाउनुपर्छ । वृद्धहरूले सक्रिय जीवनशैली अपनाउन सक्नुपर्छ, जसले गर्दा उनीहरूको शारीरिक, मानसिक, सामाजिक र आत्मीय रूपमा स्वस्थ बनाउन मद्दत पुगोस् । जे होस्, वृद्धहरूको व्यवस्थापन गर्न निम्न कुराहरूमा विशेष ध्यान दिनुपर्दछ ।
-सकेसम्म वृद्धाश्रममा नपठाउने र पठाउनै पर्ने भए मानसिक समस्या पर्न सक्ने हुँदा सामाजिक गतिविधि र सुविधा सहितको आश्रमको व्यवस्था गर्ने ।
-वृद्धहरू समाजका लागि आवश्यक छन् भन्ने सन्देश दिन समाजमा उपयोगी ज्ञान, सीप, कलालाई प्रयोग गर्ने ।
-सुविधा सम्पन्न रूपको खाने, बस्ने, सुत्ने, पूजापाठ, अध्ययन, मनोरञ्जन, स्वास्थ्य सेवा सहितको वृद्धाश्रममा बेसहारा वृद्धहरूलाई राख्ने र सेवा पुर्‍याउने ।
-वृद्धहरूको योगदान र सिर्जनात्मक कार्यलाई प्रोत्साहन प्रदान गर्ने ।
-परिवारमा वृद्धहरूसँगै खाने, बस्ने, माया ममता बाँड्ने र मनोरञ्जन गर्ने ।
-वृद्धहरूप्रतिको आदर र श्रद्धा जागृत गराउने शिक्षा विद्यालय स्तरबाटै प्रदान गर्ने ।
-वृद्धहरूको सङ्गठन खोली एकताबद्ध बनाउने ।
-यात्रा, मनोरञ्जन, तीर्थस्थल आदिमा विशेष सुविधा प्रदान गर्ने ।
-अवकाश, पेन्सन वा भत्तालाई अझै व्यवस्थित पार्ने ।
-वृद्धहरूको अध्ययन र अनुसन्धान गरी तथ्य प्रष्ट पार्ने ।
-वृद्धाश्रमको व्यवस्थापनमा सरकारी, गैर सरकारी वा अन्य निकायहरूले समेत गहिरो चासो राख्ने ।
-वृद्धाश्रमको प्रभावकारिता बढाउन बेसहारा वृद्धलाई नि:शुल्क व्यवस्था, शुल्क तिर्न सक्नेबाट शुल्क तिराउने व्यवस्था र धनी वृद्धबाट केही बढी शुल्क लिने व्यवस्था गर्ने आदि ।

६. नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी कानुनी व्यवस्था 
-नेपालमा सातौँ योजना (२०४२-२०४७) देखि सामाजिक सुधार अन्तर्गत ज्येष्ठ नागरिक सम्बन्धी व्यवस्था गरियो ।
-वृद्ध भत्ता व्यवस्थाको सुरुवात २०५१/०५२ देखि भएको ।
-ज्येष्ठ नागरिक नीतिको प्रकाशन २०५८ मा भएको ।
-ज्येष्ठ नागरिक सम्बन्धी ऐन निर्माण २०६३ मा भएको र यस ऐनमा निम्न कुराहरू उल्लेख गरिएका छन्:
क) ज्येष्ठ नागरिकको इच्छा बेगर परिवारबाट अलग राख्न र बस्न बाध्य बनाउन नसकिने ।
ख) आफ्नो अंश लिई अलग बस्न चाहेको अवस्था बाहेक परिवारले आफ्नो साथमा राखी पालनपोषण गर्नुपर्ने ।
ग) सार्वजनिक सवारी साधनमा सिट आरक्षित गर्नुपर्ने ।
घ) ६० वर्ष नाघेकालाई यातायात र स्वास्थ्य सेवामा ५० प्रतिशत छुट दिनुपर्ने ।
ङ) अंशबन्डा गरिरहनु नपर्ने, आफ्नो अंशको चल अचल र सो बाट बढे बढाएको सम्पत्तिको आफूखुसी गर्न पाइने आदि ।

अन्तमा, आज अक्टोबर पहिलो तारिख ३५ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपाल लगायत विश्वभर मनाईंदैछ । यो दिवस संयुक्त राष्ट्र सङ्घको पहलमा सन् १९९१ देखि मनाउँदै आइरहेको हो । यस वर्ष ओल्डर पर्सन्स ड्राइभिङ लोकल एण्ड ग्लोबल एक्शन: अवर एस्पिरेशनस्, अवर वेल–बीइङ एण्ड अवर राइट्स भन्ने नाराका साथ मनाईंदैछ । नारामा उल्लेख भएजस्तै ज्येष्ठ नागरिकले हाम्रा आकाङ्क्षा, हाम्रो कल्याण र हाम्रा अधिकार स्थापित गर्न विश्व र स्थानीय स्तरलाई अगाडि बढाउँछन् भनेजस्तै ज्येष्ठ नागरिकले सदैव संसारको भलो चाहन्छन् र उनीहरूले हाम्रो भविष्यलाई राम्रो बनाउन प्रयत्न गर्दछन् । अतः ज्येष्ठ नागरिकलाई माया र ममताको खाँचो हामीले पूरा गरिदिनुपर्नेमा आजको दिवसले सबैलाई प्रेरणा देओस्, संसारभरका सबै ज्येष्ठ नागरिकहरूलाई आजका दिनमा असीमित शुभकामना ।

(लेखक जीवनशैली व्यवस्थापनमा विद्यावारिधि, सेवा निवृत्त जनस्वास्थ्य निरीक्षक तथा मध्यविन्दु बहुमुखी क्याम्पस कावासोतीका प्राध्यापक हुन्)