सर्लाही । सर्लाहीको मलंगवा नगरपालिकास्थित लखन्देही खोलमा डुबेर एक युवकको मृत्यु भएको छ । मंगलवार मलंगवा नगरपालिका-५, भाडसरस्थित लखन्देही खोलामा नुहाउन गएका चार जनालाई खोलाले बगाएको थियो ।
खोलाले बगाएकामध्ये तीन जना पौडिएर सकुशल बाहिर निस्किएका थिए । साथै १८ वर्षे ओम ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले खोलामा तैरिरहेको अवस्थामा ठाकुरको उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्याएको थियो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले युवकलाई मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
मृतक युवकको शव परीक्षण पश्चात् आफन्तको जिम्मा लगाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







