काठमाडौँ। कैलाली कारागारबाट फरार भएका ३८० कैदी बन्दी फर्किएका छन् ।
जेनजीको प्रदर्शनका क्रममा ६६७ कैदी बन्दी कारागारबाट फरार भएकोमा २८७ कैदी बन्दी अझैसम्म नफर्किएको कारागार कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्यांकका अनुसार फर्किनेमा ३६ महिलासहितका कैदी बन्दी छन् । २१ भारतीय कैदी बन्दी फरार भएकोमा दुई जना कैदी बन्दी फर्किएका छन् । धेरैजसो कैदी बन्दी दिउँसोभन्दा रातको समयमा फर्किने गरेको कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले फरार कैदी बन्दीलाई यही असोज २० गतेसम्म फर्किन समय सीमा तोकेको थियो ।
सूचनामा स्थानीय प्रशासनले तोकिएको समयमा सम्पर्कमा नआएका कैदी बन्दीलाई कारागार ऐन र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको थियो । यही असोज १३ देखि २२ गतेको अवधिमा थप ५३ कैदी बन्दी फर्किएका हुन् ।
कैदी फरारको घटनापछि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा फरार कैदीको खोजी र पक्राउका लागि कार्यदल बनाइएको थियो ।
कारागारमा गत साउन २३ गते कैदी बन्दीबीच झडप हुँदा एक जनाको मृत्यु र ४८ कैदी बन्दी घाइते भएका थिए । घाइते एक जनाको अझै सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
उपचारपछि फर्किएकालाई अन्यत्रका कारागारमा स्थानान्तरण गरिसकिएको कार्यालयका निमित्त प्रमुख ज्ञानेन्द्र ओझाले जानकारी दिए ।







