काठमाडौँ । चाडपर्व भित्रिएसँगै देशका विभिन्न शहरमा निकासी गर्न लागिएको ठुलो मात्राको पटाका हेटौँडामा बरामद भएको छ ।
प्रहरीले शुक्रबार बिहान मकवानपुरको हेटौँडा-१५ रातोमाटेबाट २० लाख रुपैयाँ बराबरको पटाकासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
रातोमाटेस्थित चार्जिङ स्टेशन नजिकै वीरगंजबाट हेटौँडा आइरहेको मधेश प्रदेश ०३-००१ च ९०२३ नम्बरको योद्धा गाडीबाट पटाका बरामद गरेको छ । पटकासँगै रौतहट, वृन्दावन-९ का २० वर्षीय प्रदीप कुमार चौधरी र गरुडा-४ का ३१ वर्षीय विजय साहलाई नियन्त्रणमा लिइएको छ ।
२० लाख रुपैयाँ बराबरको पटाका बरामद भएसँगैको गाडी खानतलास गर्दा राजस्व नतिरेको थप १४ लाख रुपैयाँ बराबरको कपडा पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले गाडीमा लुकाएर ल्याइएको १ सय ३० थान सारी, ६ सय ९६ थान कुर्था र १ सय ७५ थान टप्स बरामद गरेको गरेको छ ।
प्रहरीले यसअघि बुधबार पनि २८ लाख ७० हजार रुपैयाँ बराबरको राजस्व छलीको सामान बरामद गरेको बिहीबार जनाएको थियो ।
बिलबिजक भन्दा बढी मालसमान भएको लु२ख ४०४१ नम्बरको कन्टेनर ट्रकसहित चालक पर्सा, वीरगंज-१४ पिपराका ४५ वर्षीय हीरालाल प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको थियो । चाडपर्वका बेला भएकाले प्रहरीले हेटौँडामा बिलबिजक भन्दा बढीको सामान बोक्ने ट्रक तथा कन्टेनरहरूमाथि निगरानी बढाएको छ ।







