काठमाडौँ। जेनजी आन्दोलनमा भएको आगलागीका कारण क्षति पुगेका मालपोत कार्यालयहरूमा नयाँ स्रेस्ता कायम गर्न जग्गाधनी पुर्जा र नागरिकता भए पुग्ने व्यवस्था गरिएको छ ।
सर्वसाधारणको सहजताका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो व्यवस्था गरेको हो ।
‘ल्यान्ड रेकर्ड इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम’ (एलआरआईमएस) र ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम’ (डीएमएस) मा दर्ता भएका सबैलाई सक्कली जग्गाधनी पुर्जा र नागरिकताका आधारमा स्रेस्ता कायम गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
ती दुवै प्रणालीमा तथ्यांक नभेटिएको खण्डमा तोकिएका अन्य थप कागजात पनि बुझाउनु पर्ने व्यवस्था गरेको मन्त्रालयको भनाई छ ।
२३ र २४ भदौमा भएको आन्दोलनमा केही भूमि सुधार तथा मालपोत कार्यालय/मालपोत कार्यालय पूर्ण तथा आंशिक जलाएर नष्ट पारिएका थिए । स्रेस्ता तथा अभिलेख जलेका कार्यालयहरूमा मोठ स्रेस्ता तथा रोक्काको अभिलेख साबिक बमोजिम तयार गर्न सम्बन्धित कार्यालयले जलेर नष्ट भएको जग्गाधनी दर्ता स्रेस्ता, रोक्का अभिलेख तयार गर्न जग्गाधनीलाई सूचना पनि प्रकाशित गरेका छन् ।
सोही विषयलाई लिएर मन्त्रीस्तरीय निर्णय अनुसार कार्यालयले जग्गाधनीसँग भएको सक्कल जग्गाधनी दर्ता प्रमाण पुर्जा र एलआरआईएमएसमा भएको अभिलेख भिडेमा प्रणालीबाट त्यस्तो जग्गाको स्रेस्ता प्रिन्ट गरी प्रमाणित गरी नयाँ स्रेस्ता कायम गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ ।
त्यसैगरी अभिलेख फरक पर्न गए डीएमएसमा भएको अभिलेखसँग भिडान गर्ने र अभिलेख भिडेको अवस्थामा विवरण अद्यावधिक गरी त्यस्तो जग्गाको स्रेस्ता कायम गर्ने व्यवस्था गरेको छ ।







