काठमाडौँ । कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रा.लि.का सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ परेकी छन् ।
पशु सेवा विभागले जारी गरेको सिफारिस पत्र किर्ते गरी नेपालमा दर्ता नभएका पशु औषधि आयात गरेको कसुरमा उनलाई पक्राउ गरिएको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट काठमाडौँबाट खटिएको प्रहरी टोलीले शुक्रबार काठमाडौँ महानगरपालिका-३१, शंखमूलस्थित सुवेदीको निवासबाट पक्राउ गरेको हो।
पशु सेवा विभाग अन्तर्गतको आयात-निर्यात सिफारिस, पशुजन्य उद्योग स्थापना तथा बिक्री वितरण अनुमति सम्बन्धी प्राविधिक समितिको निर्णयअनुसार डिष्ट्रिब्यूटर्सलाई पशु फिड सप्लिमेन्ट, प्रोबायोटिक्स, भिटामिन, मिनरल, टक्सिन बाइन्डर आयात गर्न अनुमति दिइएको थियो। तर, उनले सो अनुमति पत्र किर्ते गरी नेपालमा दर्ता नभएका औषधिहरू विभिन्न भन्सार कार्यालयमा पेस गरी आयात गरिएको अनुसन्धानमा खुलेको छ।
सोही सम्बन्धमा लिखत किर्तेसम्बन्धी मुद्दा दर्ता भई ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो। उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।







