काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनका क्रममा आगलागी तथा तोडफोडबाट क्षतिग्रस्त सार्वजनिक संरचना पुनर्निर्माणका लागि गोदावरी नगरपालिकाले विशेष अभियान सुरु गरेको छ ।
नगरपालिकाले जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र शिक्षकको पाँच दिन बराबरको सेवा सुविधा पुनर्निर्माण कोषमा योगदान गर्ने निर्णय गरेपछि हालसम्म ५१ लाख ४४ हजार ९७४ रुपैयाँ ६५ पैसा संकलन भएको जनाएको छ ।
नगरपालिकाका अनुसार आन्दोलनका क्रममा प्रहरी कार्यालय भवन, वडा कार्यालय, सन्त नेता कृष्णप्रसाद भट्टराई आश्रम र सनराइज हल लगायतका सार्वजनिक संरचनामा आगजनी र तोडफोडबाट ठूलो क्षति पुगेको थियो ।
ती संरचना स्थानीय प्रशासन, नागरिक र समुदायको सहकार्यमा यथाशीघ्र पुनर्निर्माण गर्ने उद्देश्यले ‘आगलागीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण अभियानमा सहभागी बनौँ’ भन्ने नारासहित अभियान सुरु गरिएको हो ।
नगरपालिकाले सार्वजनिक रूपमा सूचना जारी गर्दै भनेको छ, ‘नगरवासीको शान्ति, सुरक्षा र सार्वजनिक सेवाको सुचारु यथासम्भव छिटो पुनर्स्थापना गर्न सबैको सहकार्य अपरिहार्य छ । जनप्रतिनिधि र कर्मचारीले अग्रसर भई सुरु गरेको यो अभियानमा निजी क्षेत्र, संघसंस्था र आम नागरिकको योगदानले मात्रै दिगो पुनर्निर्माण सम्भव छ ।’
नगर प्रमुख र कार्यपालिकाका पदाधिकारीले नगरवासीलाई अभियानमा सहभागी हुन आग्रह गर्दै आर्थिक सहयोगका साथै श्रमदान र प्राविधिक सहयोगका माध्यमबाट पनि साथ दिन अनुरोध गरेका छन् । साथै क्षतिग्रस्त भवन पुनर्निर्माणसँगै प्रहरी सेवा, प्रशासनिक कामकाज र सामुदायिक गतिविधि सामान्य बनाउने तयारी भइरहेको छ ।








