काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको पहिलो बैठक मंगलबार काठमाडौँको केसर महलमा सम्पन्न भएको छ ।
सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको अध्यक्षतामा बसेको बैठकमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ को परिच्छेद ४ को दफा बमोजिम बसेको उक्त बैठकले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्तलाई सभाको सदस्यका रूपमा मनोनीत गरिएको छ ।
त्यसैगरी, विज्ञान तथा प्रविधि, व्यवस्थापन, कानुन, शिक्षा, समाजशास्त्र र मानव शास्त्रका विज्ञहरूमध्येबाट अन्य ६ जनालाई सभा सदस्यमा मनोनीत गर्ने निर्णय गरिएको छ ।
मनोनीत भएका सदस्यहरूमा प्रा. डा. जयराज अवस्थी-दार्चुला, प्रा. डा. अम्मराज जोशी-बझाङ, डा. लवदेव अवस्थी-बैतडी, प्रा. डा. संगीता राजभण्डारी- काठमाडौँ, डा. डम्बरबहादुर पाल-दार्चुला, सह प्रा.अनुराधा रोकाया, कञ्चनपुर रहेका छन् ।
त्यस्तै, विश्वविद्यालय ऐन, २०८२ को दफा २५ को उपदफा (१०) बमोजिम उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गरिएको छ। उक्त समितिको संयोजक प्रा. डा. जयराज अवस्थी रहनेछन् भने सदस्यमा प्रा। डा। दीपक महरा र प्रा। डा। भारती जोशी रहनेछन्।
बैठकले विश्वविद्यालयको प्रारम्भिक संरचना, आगामी नीतिगत तयारी र संस्थागत सुदृढीकरणका विषयमा समेत छलफल गरेको जनाइएको छ।







