काठमाडौँ । डाक्टरहरूलाई बाहिर काम गर्न नदिइने भएको छ । लुम्बिनी प्रदेश सरकारले छात्रवृत्ति करारमा रहेका डाक्टरहरूलाई बाहिर काम गर्न नदिने भएको हो ।
छात्रवृत्तिमा सरकारी लगानीमा अध्ययन गरेर करारमा रहेका विशेषज्ञ डकटरहरु सम्बन्धित ठाउँमा कम समय दिएर बाहिर काम गरेको गुनासो आएपछि सरकारले एक्सन थालेको लुम्बिनीका स्वास्थ्य मन्त्री खेम सारुले जनाएका छन् ।
मन्त्रालयले बुधबार नै विज्ञप्तिमार्फत यसलाई सार्वजनिक गरेको छ भने सबै अस्पतालका प्रमुखहरूलाई निर्देशन गरिसकेको मन्त्री सारुले जानकारी दिए ।
मन्त्रालयका महाशाखाले सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ बमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कामशाह पथ, काठमाडौँबाट नियुक्ति लिई प्रदेशका अस्पतालमा कामकाजमा खटिएका विशेषज्ञ चिकित्सकहरूले उक्त कार्यविधिको दफा १६ को उपदफा १ (ज) मा सेवा अवधिभर निजीरुपमा चिकित्सकीय सेवा प्रदान गर्न नहुने प्रावधान रहेको र उपदफा ३ मा उपदफा १ (ज) को प्रावधानको उल्लंघन गरेमा निजको लाइसेन्स निलम्बन गरिने व्यवस्था भएको सूचित गराउँदै सोहीअनुरूप कार्यान्वयन गर्न-गराउन सबैलाई पत्राचार गरिएको जनाएका छन् ।








