काठमाडौँ । देशभरका नवप्रवर्तन र उद्यमशीलतालाई एकीकृत गर्दै ‘सनवे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५’ आगामी कार्तिक २७ र २८ गते काठमाडौँमा आयोजना हुने भएको छ। सातै प्रदेशका सयौं स्टार्टअप र इन्नोभेसन परियोजनाहरूको प्रदर्शनी रहने यो फेस्ट अनुपम फुडल्याण्ड, बत्तीसपुतलीमा आयोजना गरिनेछ।
यो फेस्ट नेपालका स्टार्टअप, विद्यार्थी र नवप्रवर्तनकर्ताहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको हो। फेस्टमा रोबोटिक्स, ड्रोन, एआई प्रविधि, रकेट तथा एयरोस्पेस सम्बन्धी परियोजनाहरू समेत प्रदर्शन गरिनेछ।
कार्यक्रम लिभिङ विथ आइसीटी र स्वाइड अफ चेन्जमेकरको संयुक्त आयोजनामा हुने भएको छ। आयोजकका अनुसार, फेस्टमा ५० भन्दा बढी स्टार्टअप, प्रोडक्ट र इन्नोभेसनहरू आइसीटी अवार्ड २०२५ का सेमिफाइनलिस्टका रूपमा सहभागी हुनेछन्, जसका प्रोडक्टहरूमा अवलोकनकर्ताले प्रत्यक्ष भोट पनि गर्न सक्नेछन्। साथै, सातै प्रदेशबाट ३० भन्दा बढी स्टार्टअपहरूको सहभागिता रहनेछ।
आयोजक समितिका अध्यक्ष राजन लम्सालका अनुसार, “स्टार्टअप एण्ड आइडिया फेस्ट नेपालमा इन्नोभेटिभ रूपमा काम गरिरहेका युवा उद्यमीहरूलाई प्रवर्द्धन गर्ने, लगानीकर्तासँग जोड्ने र सरकार तथा सरोकारवालासँग सहकार्यका लागि एउटा साझा मञ्च हो।”
आयोजक लिभिङ विथ आइसीटीले फेस्टमा लगानीकर्ताका लागि प्रोडक्ट डेमो र नेटवर्किङ सेसनको व्यवस्था समेत गरिएको जनाएको छ। साथै, प्रदर्शनीमा सहभागिता जनाउने स्टार्टअपका लागि दर्ता नि:शुल्क गरिएको छ। विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरूलाई पनि अवलोकनका लागि सहज वातावरण तयार गरिएको आयोजकले जनाएको छ।
नेपालको प्रविधि क्षेत्रमा प्रतिष्ठित आइसीटी अवार्ड २०२५ को प्रि–इभेन्ट का रूपमा आयोजना हुने यो फेस्ट नेपालकै सबैभन्दा ठूलो स्टार्टअप प्रवर्द्धनात्मक कार्यक्रमका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
दुई दिने प्रदर्शनीसँगै, काठमाडौँ बाहिरबाट सहभागी हुने स्टार्टअपका लागि मेन्टोरिङ, इन्क्युबेशन र नि:शुल्क प्रशिक्षण सेसन पनि सञ्चालन गरिनेछ। ती सेसनहरू सनवे कलेज र एमआइटी कलेजमा हुनेछन्।
यस कार्यक्रमका क्रममा सातै प्रदेशका उत्कृष्ट एक–एक स्टार्टअपलाई ‘प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन’ शीर्षकमा आइसीटी अवार्ड २०२५ को ग्राण्ड फिनालेमा सम्मान गरिनेछ।
आइसीटी अवार्ड २०२५ का लागि हाल विभिन्न १५ विधामा छनोट प्रक्रिया सञ्चालनमा रहेको छ। यो अवार्डमा ७ सयभन्दा बढी अनलाइन नोमिनेसन प्राप्त भइसकेका छन् भने १४ जना नेपाली र ३ जना विदेशी विज्ञहरू मूल्याङ्कन प्रक्रियामा संलग्न छन्।
फेस्टसँगै दर्जनौँ प्रि–इभेन्टहरू पनि सञ्चालन हुनेछन्।










