काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा जरिबानामा परेका तर हालसम्म रकम नबुझाएका व्यावसायिक फर्म, कम्पनी तथा प्रतिष्ठानलाई एक महिनाभित्र बक्यौता जरिवाना दाखिला गर्न निर्देशन दिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै निर्धारित अवधिभित्र जरिबाना नबुझाउने व्यवसायीमाथि कानुनी कारबाही अघि बढाइने जनाएको हो । सूचना पहिलो पटक प्रकाशित भएको मितिबाट एक महिनाको समयावधि निर्धारण गरिएको छ ।
उपभोक्ताको हकहित र अधिकारको संरक्षण तथा स्वच्छ एवं प्रतिस्पर्धी बजार कायम गर्ने उद्देश्यले विभाग र मातहतका कार्यालयले विभिन्न समयमा नियमित तथा आकस्मिक बजार अनुगमन गर्दै आएका छन् । त्यस क्रममा कानुनविपरीत व्यावसायिक गतिविधि गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ र ३९ बमोजिम निरीक्षण अधिकृतले स्थलगत रूपमा जरिबाना तोकेका थिए ।
विभागको अभिलेखअनुसार कतिपय व्यवसायीले निर्धारित जरिबाना सरकारी राजस्व खातामा जम्मा गरी त्यसको प्रमाण विभागमा पेस गरेका छैनन् । त्यस्ता व्यवसायीलाई लक्षित गरी विभागले रकम दाखिला गर्ने समयसीमा तोकेको हो ।
म्यादभित्र जरिबाना नबुझाए तीन प्रकारका कारबाही
विभागले निर्धारित अवधिभित्र जरिबाना भुक्तानी नगर्ने व्यवसायीमाथि तीन प्रकारका कानुनी कारबाही अघि बढाउने जनाएको छ ।
पहिलो चरणमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ को उपदफा (५)र दफा ४० अनुसार सम्बन्धित पसल, फर्म वा प्रतिष्ठानमा सिलबन्दी गरी कारोबार तत्काल रोक्का गरिने सूचनामा उल्लेख छ ।
त्यसैगरी प्राइभेट फर्म रजिस्ट्रेसन ऐन, २०१४, कम्पनी ऐन, २०६३ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम सम्बन्धित फर्म वा कम्पनीको दर्ता खारेजीका साथै अन्य सरकारी निकायबाट जारी भएका इजाजत पत्र वा अनुमति पत्र निलम्बन अथवा खारेज गर्न सम्बन्धित निकायमा लेखी पठाइनेछ ।
जरिबाना रकम सरकारी बाँकीसरह असुलउपर गर्न सम्बन्धित मालपोत कार्यालय, बैंक तथा वित्तीय संस्थामार्फत व्यवसायीको चलअचल सम्पत्ति र बैंक खाता रोक्का गर्ने प्रक्रिया पनि अघि बढाइने विभागले जनाएको छ ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५, उपभोक्ता संरक्षण नियमावली, २०७६ को नियम २६, प्राइभेट फर्म रजिस्ट्रेसन ऐन, २०१४, साझेदारी ऐन, २०२०, कम्पनी ऐन, २०६३, कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१, गुणस्तर (प्रमाण-चिह्न) ऐन, २०३७ र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ लगायतका कानुनी प्रावधानलाई निर्देशनको आधार बनाएको छ ।
जरिवाना रकम दाखिला गर्ने व्यवस्था
विभागले जरिबाना बुझाउन बाँकी व्यवसायीका लागि हिमालयन बैंकको नयाँ बानेश्वर शाखामार्फत राजस्व शीर्षक नम्बर १४३१२ र कार्यालय कोड नम्बर ३०७०५३५०१ प्रयोग गरी रकम दाखिला गर्ने व्यवस्था उल्लेख गरेको छ ।
रकम जम्मा गरेपछि व्यवसायीले सक्कल भौचर(रसिद) सहित विभागलाई अनिवार्य रूपमा जानकारी गराउनुपर्नेछ ।
राजस्व दाखिलासम्बन्धी थप जानकारी विभागको आधिकारिक वेबसाइट वा टोल फ्री नम्बर ११३७ मार्फत लिन सकिने सूचनामा उल्लेख छ ।








