काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूसँग पनि रोलेक्स घडी रहेको तर हातमा लगाएर नहिँडेको बताएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा रोलेक्स घडीको तस्बिर राख्दै उनले आफूसँग पनि रहेको जानकारी दिएका हुन् ।
तर उनले उक्त घडी आफैँले नकिनी ताप्लेजुङ जिल्लामा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना वृद्ध दम्पतीले फुङलिङ बजारमा उपहारस्वरूप दिएको बताएका छन् ।
उनले भनेका छन्, ‘ मेरो पनि तल फोटोमा देखाएको रोलेक्स घडी छ है साथीहरू। यो रोलेक्स घडी अस्ति भर्खरै ताप्लेजुङ जिल्लामा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना वृद्ध दम्पतीले फुङलिङ बजारमा मैले लिन नमान्दा पनि जबरजस्ती दिनु भयो।’
सञ्चार मन्त्री जगदीश खरेलको घडीबारेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्री पुनले व्यंग्य गर्दै भनेका छन्, ‘ मैले लगाएर हिँडेको भएता बर्वादै हुने रहेछ नि। धन्न झोलामा राखेर बचिएछ ।’
उनले ३ वर्ष पनि बेलायत बस्ने एक जना साथीले रोलेक्स घडी दिएको तर आफूले उक्त घडी फेसबुक मै राखेर बेचिदिएको बताएका छन्। ‘३ वर्ष पहिला पनि युकेमा बस्ने एक जना साथीले रोलेक्स घडी दिएका थिए। त्यसलाई मैले फेसबुक मै राखेर बेचिदिएँ।’
साथै उनले अहिले भएको रोलेक्स घडी भने तत्काल नबेच्ने बताएका छन् ।
उनले व्यंग्यपारामा भनेका छन्, ‘तर यो अहिलेको घडी तुरुन्तै बेच्दिन। गाह्रो छ हौ म भट्भटे मन्त्रीलाई।’







