काठमाडौँ। रसुवागढी-केरुङ जोड्ने नेपाल-चीन मितेरी पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।
हाल बेलिब्रिज राखेर दायाँ-बायाँबाट बार उठाइसकिएको छ । अब गाडीहरू गुड्नका लागि बिचमा स्ल्याब हाल्न मात्र बाँकी छ ।
गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक योजनाका सूचना अधिकारी इन्जिनियर अमरेन्द्र कुमार यादवका अनुसार चीनले आफ्नै खर्चमा सो स्थानमा बेलिब्रिज बनाइरहेको छ ।
उनले भने, ‘पुलको सबै काम चीनले नै गरिरहेकाले हामीलाई धेरै जानकारी त छैन तर अब बिचमा स्ल्याब राख्न मात्र बाँकी भएको जस्तो देखिन्छ । सायद स्ल्याब राखेपछि गाडीहरू गुड्न थाल्छन् ।’
स्थानीयका अनुसार सबै काम सम्पन्न गरी छठ पर्वलगत्तै बेलिब्रिजबाट गाडी आउ-जाउ गराउने लक्ष्यसहित चिनियाँ टोलीले कामलाई तीव्रता दिएको छ ।
गत असार २४ गते चीनतर्फबाट बगेर आउने केरुङ र लेन्दे खोलाको बाढी भोटेकोशी नदीमा मिसिँदा रसुवागढी–केरुङ जोड्ने पक्की पुल बगाएको थियो । सो स्थानमा चीन सरकारले नै बेलिब्रिज निर्माण सुरु गरेको थियो ।
रसुवागढी-केरुङ नेपाल-चीन बिचको तातोपानी पछिको दोस्रो ठुलो व्यापारिक नाका हो । पुल बगेपछि नेपालको चीनतर्फको एक मुख्य व्यापारिक नाका रसुवागढीबाट हुने व्यापार पूर्णरूपमा टुटेको छ ।







