काठमाडौँ । भाइटिका लगाउने क्रममा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको निधन भएको छ ।
बिहीबार मध्यान्ह भाइटिका लगाउँदै गरेका केसी अचानक बेहोस भएपछि अस्पताल पुर्याउँदै गर्दा उनको निधन भएको हो ।
राजमो रुपन्देहीका नेता गङ्गालाल सापकोटाका अनुसार बुटवल-१९ स्थित आफ्नै निवासमा भाइटिका लगाउँदै गर्दा ५० वर्षीय केसी बेहोस भएर ढलेका थिए ।
उनलाई उपचारका लागि बुटवल हस्पिटल प्रालिमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका जनाइएको छ।
केसीको निधनप्रति मातृ पार्टी नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।







