रुपन्देही । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको टोलीले साढे १० लाख मूल्य बराबरको भन्सार छली गरिएका सामान बरामद गरेको छ ।
गत बुधबार र बिहीबार जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अन्दाजी रु. १० लाख ५७ हजार ५०० बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामान शुक्रबार भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाइन कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।
प्रहरीले नियन्त्रणमा लिएका सामानमा कोइलर र ब्रोइलर कुखुरा, फूल, भैँसी, पाडी, सामान ल्याउन प्रयोग गरिएका मोटरसाइकल र पिकअप गाडी रहेका छन् ।
प्रहरीले भन्सार छलेर सामान ल्याएको आरोपितलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओमसतिया गाउँपालिका–४ वसन्तपुरका ३२ वर्षीय सराफत अलि, भारतको उत्तर प्रदेश जिल्ला महाराजगञ्ज थाना नौतनवा बस्ने ३१ वर्षीय शिवकुमार कोइरी, सोही स्थान बस्ने ४० वर्षीय बब्लु कुशवार र मर्चवारी गाउँपालिका-३ रायपुरका अन्दाजी २८ वर्षीय जगदेव भुज रहेका छन् ।







