काठमाडौँ । पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले पाँच जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको हो।
सिफारिस सूचीमा पहिलो नम्बरमा भूपेन्द्रबहादुर खत्री, दोस्रोमा सानुराम भट्टराई, तेस्रोमा ओमप्रसाद अधिकारी, चौथोमा शेखर खनाल र पाँचौँ नम्बरमा अविनारायण काफ्ले रहेका छन्।
यसअघि काठमाडौँ प्रहरीको नेतृत्व गरेका विश्व अधिकारी बढुवा सिफारिस सूचीमा नपरेसँगै भूपेन्द्रबहादुर खत्री पहिलो नम्बरमा सिफारिसमा परेका छन्। उनी प्रहरी सेवामा अब्बल र पेशेवर अधिकारीका रूपमा लिइन्छन्। उनलाई भावी नेतृत्वका रूपमा समेत संगठनभित्र हेरिने गरिएको छ।
उपत्यकामा भएका पछिल्ला आन्दोलनहरूमा कमजोर कमाण्ड रहेको आलोचनासँगै अधिकारी सिफारिस सूचीबाट छुटेको प्रहरी अधिकारीहरूले बताएका छन्। यसका साथै, यसपटकको बढुवा बरियताक्रमअनुसार गरिएको र गृह मन्त्रालय तथा प्रहरी मुख्यालयले हस्तक्षेपमुक्त ढंगबाट भएको बताइएको छ ।








