काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मिन्त्री जगदीश खरेलले वर्तमान सरकार फागुन २१ मा घोषित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न प्रतिबद्धताका साथ लागि परेको बताएका छन् ।
ललितपुरको इमाडोलस्थित (इभी दह) बोजेपोखरीमा छठ पूजा व्यवस्थापन समाजले सोमबार आयोजना गरेको छठ पूजामा कार्यक्रममा बोल्दै मन्त्री खरेलले निर्वाचन सफल बनाउन र मुलुकमा सुशासन कायम तथा भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने विश्वास व्यक्त गरेका छन्।
सञ्चार मन्त्री खरेलले भने,“अहिलेको सरकार खास गरी निर्वाचन गर्ने सन्दर्भमा, सुशासन कायम गरेर भ्रष्टाचार नियन्त्रण गर्ने तथा जेनजी आन्दोलनको क्रममा भएको धन जनको क्षतिको अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन लागेको छ ।”
मन्त्री खरेलले छठ पर्व सम्पूर्ण नेपालीको राष्ट्रिय गौरव र आत्मीयताको पर्व रहेको उल्लेख गरे । “छठ तराई–मधेशबासीको मात्रै पर्व रहेन । यो सम्पूर्ण नेपालीको राष्ट्रिय गौरव, आत्मीयताको पर्व र पवित्रताको प्रतीक पनि रहेको छ । यस पर्वको उपलक्षमा म सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । छठिया माताले देशमा सुख, शान्ति र समृद्धिका लागि हामीलाई आशीर्वाद प्रदान गर्नुहुनेछ भन्ने कामना पनि गर्दछु”, उनले भने ।
सञ्चार मन्त्री खरेलले महालक्ष्मी नगरपालिकालाई अझै सुन्दर, व्यवस्थित र समृद्ध बनाउन बनाउन सबै लाग्नुपर्नेमा जोड दिए। उनले अगाडि थपे,“आज बोजेपोखरी सुन्दर र शान्त भएकाले हामी तमाम नगरबासी जम्मा भएर छठ पर्व मनाइरहेका छौँ, यसलाई अझै हर्षोल्लासका साथ मनाउनका लागि सबैमा अनुरोध गर्न चाहन्छु ।”
सञ्चार मन्त्री खरेलले साँझ बोजेपोखरीमा आयोजित छठ पूजामा सहभागी भई छठी माताको दर्शन गर्नुका साथै पूजा आराधना गरे । उनले छठ पूजा कार्यक्रमको अवलोकनसमेत गरे । सञ्चार मन्त्रीलाई छठ पूजा व्यवस्थापन समाजका पदाधिकारी र स्थानीयवासीले स्वागत गरेका थिए । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनको पनि उपस्थिति थियो ।
छठ पूजा व्यवस्थापन समाजका अध्यक्ष उमेश्वर यादवले विगतका वर्षहरूदेखि नै बोजेपोखरीमा छठ पूजा गरिँदै आएको बताउनुभयो । उहाँले छठ पूजा प्रकृतिको पूजा खास गरी मानवलाई जोड्ने माध्यम भएको उल्लेख गरे ।
अध्यक्ष यादवले बोजेपोखरीमा आयोजित छठ पूजामा सहभागी भएर सञ्चार मन्त्री खरेलले हौसला प्रदान गर्नुभएकोमा खुशी व्यक्त गरे । उनले बोजेपोखरीमा वर्षेनी धेरै सङ्ख्यामा भक्तजन आउने भएकाले घाट साँघुरो हुँदा पूजा व्यवस्थापनमा समस्या भइरहेको भन्दै यसलाई आगामी दिनमा थप प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।
महालक्ष्मी नगरपालिका वडा नं ३, बोजेपोखरी संरक्षण तथा विकास समिति र बोजेपोखरी खानेपानी तथा सरसफाइ समितिको सहकार्यमा समाजले छठ पूजा आयोजना गरेको हो । सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर सुरु भएको छठ पूजा मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिन्छ ।







