काठमाडौँ । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका मध्ये करिब पाँच हजार कैदी बन्दीलाई अध्यागमनको कालोसूचीमा राखिएको छ ।
२४ भदौको आन्दोलनको क्रममा देशभरका कारागारहरूबाट १५ हजार भन्दा कैदी बन्दीहरू फरार भएका थिए । अहिले ठुलो मात्रामा कैदी बन्दीहरू पक्राउ परिसकेका छन् । ती मध्ये अझै ६ हजार भन्दा बढी कैदी बन्दीहरू फरार छन् ।
फरार भएका कैदी बन्दीहरू विमानस्थल प्रयोग गरेर विदेश भाग्न सक्ने भन्दै उनीहरूलाई कालोसूचीमा राखिएको छ । कारागार व्यवस्थापन विभागले पठाएको विवरणका आधारमा करिब पाँच हजार कैदी बन्दीहरूलाई कालोसूचीमा राखिएको हो ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ५२९ भारतीय कैदीलाई अध्यागमनको कालो सूचीमा राखिएको छ । त्यसैगरी ४ हजार २६६ नेपाली कैदी बन्दीहरू पनि अध्यागमनको कालो सूचीमा परेका छन् ।
ठुलो संख्यामा कैदी बन्दीहरू फरार भए पनि उनीहरूको पासपोर्ट, नागरिकता नम्बरहरू यकिन हुन नसक्दा अरू कैदी बन्दीहरूलाई कालो सूचीमा राख्न अप्ठेरो परेको विभागको बुझाई छ ।
नामको आधारमा मात्रै कालो सूचीमा राख्दा सोही नाम गरेको अर्को व्यक्तिले दुःख पाउने सम्भावना रहने भएकाले पासपोर्टको विवरण उपलब्ध नभएसम्मका कैदी बन्दीहरूलाई कालोसूचीमा राखिएको बताइएको छ ।







