काठमाडौँ । नेपाली सेनाले संयुक्त राष्ट्रसंघ दिवस श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा विशेष कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ ।
बिहीबार प्रधान सेनापति महारथी अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाइएको सेनाले जनाएको छ । कार्यक्रममा रक्षा सचिव, बलाधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू, मित्रराष्ट्रहरूका सैनिक सहचारीहरू, सञ्चारकर्मीहरू लगायत नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो ।
संयुक्त राष्ट्र संघको आव्हानमा सन् १९५८ बाट शान्ति सैनिक खटाउँदै आएको नेपाल, शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचिमा पहिलो रहनुका साथै महिला सैनिक खटाउने राष्ट्रहरूमा समेत पहिलो स्थानमा रहेको छ ।
संयुक्त राष्ट्र संघीय मिसन अन्तर्गत हाल विश्वका विभिन्न १० वटा मिसनहरूमा नेपाली सेनाका ५,८१९ जना शान्ति सैनिकहरू कार्यरत छन् । विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका ७४ जना सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने ७५ जना सैनिकहरू घाइते भएका छन् ।










