काठमाडौँ। जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेश प्रदेशसभाको बैठकबाट मधेशलाई स्वायत्त घोषणा गर्ने गैरसंवैधानिक माग अघि सारेका छन् । मधेशको आफ्नै प्रहरी र प्रशासनसहितको सरकार गठन गर्नुपर्ने उनको प्रस्ताव छ ।
राउतले विगतमा मधेसलाई छुट्टै राज्य बनाउने विखण्डनकारी अभियानको नेतृत्व गरेका थिए । पछि उनले त्यो अभियान त्यागेर मूलधारको राजनीतिमा आएका हुन् । तर, अझै पनि उनी विखण्डनकारी सोचबाट मुक्त नभइसकेको पछिल्लो अभिव्यक्तिले देखाएको छ ।
राउतले लेखेका छन्, ‘मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ । मधेश प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौँ।’
राउतले मधेश प्रदेश सभाको दुई तिहाइ सांसदको समर्थनमा मधेशलाई स्वायत्त घोषणा गर्न मिल्ने तर्क गरेका छन् ।
उनी लेख्छन्, ‘अहिलेको संघीय सरकार नै कुन संविधान अनुसार बनेको छ र ? आन्दोलनको माग बमोजिम बनेको छ। त्यसैले हामीले पनि मधेशी जनताको चाहना बमोजिम मधेश प्रदेश सभाको दुई तिहाइको सभासद्को समर्थनमा मधेशलाई स्वायत्त घोषणा गर्न पक्कै मिल्छ। नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने सही मौका यही हो।’







