काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबीमध्ये हालसम्म निर्जीवन बिमा कम्पनीले करिब रु. तीन अर्ब ६८ करोड ४१ लाख भुक्तानी गरेका छन् ।
नेपाल बिमा प्राधिकरणमा निर्जीवन बिमा कम्पनीबाट प्राप्त पछिल्लो तथ्यांकअनुसार सो आन्दोलनका क्रममा परेका बिमा दाबी कूल रु २३ अर्ब ४६ करोड ९१ लाख रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ती दाबीमध्ये अग्रिम भुक्तानीसहित सम्पत्ति बिमातर्फ ६९३ वटा दाबीको रु. १९ अर्ब चार करोड नौ लाख रकममध्ये करिब रु. दुई अर्ब ९२ करोड ८६ लाख, मोटर बिमातर्फ दुई हजार २९० वटा दाबीको करिब रु. तीन अर्ब ४७ करोड सात लाखमध्ये रु. ६८ करोड ६१ लाख भुक्तानी भएको छ ।
त्यसैगरी, इञ्जीनीयरिङ तथा ठेक्का जोखिम बिमातर्फ २०९ वटा दाबीको करिब रु. ५४ करोड ७५ लाखमध्ये रु. ६ करोड २३ लाख, परिवहन बिमातर्फ १२ वटा दाबीको करिब रु. एक करोड ६८ लाखमध्ये रु. ४७ लाख र अन्य बिमातर्फ ४२ वटा दाबीको करिब रु. ३९ करोड ३० लाखमध्ये रु. २३ लाख अग्रिम भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
यसैबीच जेन जेड आन्दोलनका क्रममा भएका क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुन:बिमा कम्पनीले निर्जीवन बिमा कम्पनीलाई करिब रु. दुई अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी उपलब्ध गराएको प्राधिकरणले जनाएको छ ।
नेपाल पुन:बिमा कम्पनीमा हालसम्म दुई हजार ८५७ वटा पुन:बिमा दाबी दर्ता भई सोको कूल रकम करिब रु. १५ अर्ब ८२ करोड ७० लाख पुगेको छ ।
बिमा दाबी छिटो र पारदर्शी रूपमा भुक्तानी सुनिश्चित गर्न प्राधिकरणले बिमा कम्पनी र पुन:बिमा कम्पनीसँग निरन्तर समन्वय गरिरहेको छ ।







