काठमाडौँ । कारागार कार्यालय रुपन्देही सिद्धार्थनगरमा नि:शुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजना तथा श्रीकृष्ण नेत्रालय प्रा. लि. भैरहवाको सह-आयोजनामा एक दिने शिविर सञ्चालन गरिएको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत कारागारमा रहेका सम्पूर्ण कैदी बन्दीहरूका लागि नि:शुल्क आँखा शिविर (कार्यक्रम) गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले बताए ।
संघको कार्यालय र कारागार कार्यालयसँगै सटेको र आमनेसामने भएको हिसाबले पनि यहाँ सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू धेरै गरेको उनले बताए। अध्यक्ष आचार्यले यसअघि मानव सेवा आश्रम, भीम अस्पताल लगायत धेरै ठाउँमा सामाजिक कार्यहरू गरेको बताए ।
उनले चस्मा आवश्यक भएकालाई चस्मा पनि वितरण गरिएको जानकारी दिए । कारागारमा यस्ता खालका कार्यक्रम अन्य संघ–संस्थाहरूलाई पनि गर्न उनले आग्रह गरे।
शिविरमा ३ सय ११ जना कैदी बन्दीको नि:शुल्क आँखा परीक्षण गरिएको आँखा जाँचमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् । त्यस्तै १८ जनालाई चस्मा वितरण गरिएको छ । त्यसैगरी मोतिया बिन्दु र आँखाको पर्दामा समस्या देखिएका १० जनालाई थप उपचारका लागि परामर्श दिइएको छ ।
कार्यक्रम संयोजक तथा संघकी कार्यसमिति सदस्य मिना पन्थीले सामाजिक उत्तर दायित्व अन्तर्गत कार्यक्रम गर्नुपर्छ भन्ने उद्देश्यले कारागारमा आँखा शिविर गरिएको बताइन् ।
संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिलीपकुमार कान्दु, महासचिव कृष्ण प्रसाद घिमिरे, सल्लाहकार गोपाल भण्डारी, लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझी, श्रीकृष्ण नेत्रालयका सौरभ सरकार लगायतले आगामी दिनमा पनि शिविर सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
वि.सं. १९९० सालमा स्थापना भएको रुपन्देही कारागारमा हाल ६४३ जना कैदी बन्दी रहेको कारागार प्रशासक सुरेश भण्डारीले जानकारी दिए ।







