काठमाडौँ । बागमती प्रदेश सभाको बजेट अधिवेशन (वर्षे अधिवेशन) अन्त्य गरिएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाको वर्खे अधिवेशन अन्त्य गरेका छन् ।
प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलले आज सूचना जारी गर्दै प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा २ बमोजिम यही मङ्सिर ३ गते राति ११:५९ बजेदेखि वर्षे अधिवेशन अन्त्य गरेको जानकारी दिए।
वर्षे अधिवेशन अन्त्य भएसँगै प्रदेश सरकारले अब छिट्टै विधेयक केन्द्रित हिउँदे अधिवेशन आह्वान गर्ने तयारी भइरहेको सरकार प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।
बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएको प्रदेशसभा सचिवालयले प्रदेश सभा सदस्यलाई जानकारी गराएको छ । प्रदेश सभा सचिवालयका सचिव पौडेलले आज सूचना जारी गर्दै सभामुख पाठकले गत असोज १ गते उपसभामुख अप्सरा चापागाईँलाई सम्बोधन गरी राजीनामा बुझाएको जानकारी दिएका हुन् ।
प्रदेश सभा नियमावली २०७४ को नियम १८४ को उपनियम २ बमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीका लागि सूचना प्रकाशन गरिएको सचिव पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।
जेन जेड आन्दोलनको क्रममा गत भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका सभामुख पाठकले असोज १ गते उपसभामुख चापागाईँलाई लिखित राजीनामा बुझाएका थियो ।







