नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले सुशासन, पारदर्शिता र जनमुखी सेवाको पुनः स्थापना गर्दै निष्पक्ष, परिणाममुखी र शून्य–सहनशीलता आधारित प्रशासनिक रूपान्तरणमा पूर्ण समर्पणसहित राष्ट्र र जनताको हितलाई सर्वोच्च प्राथमिकता दिने अटल प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ । नेपाल सरकारका नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले राष्ट्र र जनताको सर्वोत्तम हित हुने गरी मुख्यसचिव पदको जिम्मेवारी निःस्वार्थ, निस्पृह र जिम्मेवार ढङ्गले सम्हाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधबार सिंहदरवारमा पद बहालीपछि आयोजित स्वागत कार्यक्रममा उनले चुनौतीपूर्ण अवस्थामा प्राप्त भएको यो जिम्मेवारीलाई पूर्ण जिम्मेवारी बोधका साथ निर्वाह गर्ने बताउँदै राष्ट्र र जनताको सर्वोत्तम हित नै आफ्नो कार्यसंचालनको मूल लक्ष्य रहने स्पष्ट गरे।
उनले आफ्नो कार्यकालमा निजामती सेवाको साख बढाउँदै यसलाई सुशासन, सेवा प्रवाह, विकास निर्माण तथा समग्र रूपान्तरणको मियोको रूपमा स्थापित गर्न अहोरात्र क्रियाशील रहने प्रतिबद्धता जनाए। उनका अनुसार, देशको गौरव र प्रतिष्ठा वृद्धि तथा नागरिक सन्तुष्टि अभिवृद्धि नै आफ्नो कार्यकालको सर्वोपरि लक्ष्य हुनेछ। सार्वजनिक सेवालाई चुस्त, पारदर्शी र नागरिक–मैत्री बनाउँदै प्रशासनिक संयन्त्रलाई विकास र नतिजामुखी बनाउनेमा उनले जोड दिए।
मुख्यसचिव अर्यालले देश संवेदनशील परिस्थितिबाट गुज्रिरहेको वर्तमान अवस्थामा प्रशासनिक कामकाजलाई विगतझै सामान्य ढङ्गले सञ्चालन गर्न असम्भव रहेको उल्लेख गर्दै शान्ति–सुरक्षा, स्थिरता, सद्भाव र सेवा प्रवाहलाई अक्षुण्ण राख्न अझ बढी समर्पित भएर खटिनुपर्ने आवश्यकता औँल्याए। उनले सबै तहका कर्मचारीमा सक्रियता, लगनशीलता र नतिजामुखी कार्यशैलीको निरन्तर आवश्यकता रहेको स्पष्ट पारे।
उनका अनुसार, स्थायी सरकारको रूपमा परिचित निजामती सेवा राज्य सञ्चालनको मेरुदण्ड भएकाले नीति निर्माणदेखि कार्यान्वयनसम्म यसको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। राजनीतिक नेतृत्वलाई तथ्य–तथ्याङ्क, सूचना तथा परामर्श उपलब्ध गराउनु, ऐन–नियम कार्यान्वयन गरी शान्ति–सुव्यवस्था कायम गर्नु, समयमै सार्वजनिक सेवा उपलब्ध गराउनु तथा विकास निर्माणलाई गति दिनुजस्ता जिम्मेवारी बोकेको निजामती सेवा जति सबल हुन्छ, सुशासनको स्तर त्यति नै माथि उठ्ने उनले बताए।
सरकार जनताको घरदैलोमा पुग्नु नै राष्ट्रसेवकहरूको अनुहारमार्फत सम्भव हुने भन्दै उनले निजामती कर्मचारीको सोच, शैली, व्यवहार र आचरणले सरकारको छवि निर्धारण गर्ने उल्लेख गरे। निजामती कर्मचारी जनताको शासक होइन, सेवक र सहजकर्ताको रूपमा उभिनुपर्ने उनको भनाइ थियो।
अर्यालले आजका दिनमा निजामती सेवामाथि अल्छी, ढिलासुस्ती, काम पन्छाउने, आत्म केन्द्रित र स्वार्थी संगठनका रूपमा आरोप लाग्न थालेको तीतो यथार्थ स्विकार्दै व्यक्तिगत आचरण र कार्यशैलीमा आमूल सुधार ल्याउनुपर्ने आवश्यकता जोड दिए। राजनीतिक आस्था र गुटगत विभाजनले निष्पक्षता, तटस्थता र इमानदारीमाथि खेलवाड गरेको भन्दै उनले सरुवा–पदस्थापनमा देखिएको अस्वच्छ प्रतिस्पर्धा तथा क्षमता भन्दा निकटता हाबी हुने प्रवृत्तिले निजामती सेवा शिथिल बन्दै गएको बताए।
अनुशासन र चेन अफ कमान्डलाई निजामती सेवाका आधारभूत तत्त्वका रूपमा वर्णन गर्दै उनले यी संरचनामा कुनै बहानामा विचलन अस्वीकार्य हुने उल्लेख गरे। आवधिक निर्वाचनबाट बनेको सरकारका प्रतिबद्धताहरू कार्यान्वयन गरी जनताको अपेक्षा पूरा गर्नु नै निजामती सेवाको धर्म भएको उनको भनाइ छ।
संविधानले तोकेको स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त र जनउत्तरदायी सार्वजनिक प्रशासन निर्माण गर्न सबै राष्ट्रसेवकलाई संवैधानिक आदर्शलाई मनन गरी राष्ट्र सेवामा जुट्न आग्रह गरे। समयानुकूल सुधार, जेन–जेड पुस्ताको अपेक्षा, असल शासन र प्रविधिमा आधारित सेवा प्रणाली निर्माणलाई आवश्यक जोड दिए।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नु र भ्रष्टाचारमुक्त सुशासन कायम गर्नु वर्तमान सरकारको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै मुख्यसचिव अर्यालले निर्वाचन तयारी, सुरक्षा समन्वय, कार्यविधि परिमार्जन र मतदाता अद्यावधिक कार्यलाई उच्च प्राथमिकतामा राख्न निर्देशन गरे।
सार्वजनिक सेवामा ढिलासुस्ती रोक्न टोकन प्रणाली वा रिपोर्ट कार्ड लागू गर्ने, अनलाइन सेवाहरूमा अन्तर–आबद्धता सुनिश्चित गर्ने, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली विस्तार गर्ने, अभिलेख डिजिटलाइजेसनलाई तीव्रता दिने लगायत कार्यलाई अघि बढाइने उनले बताए।

विकास निर्माणमा अवरोध हटाउने, गुणस्तरीयता सुनिश्चित गर्ने, जनगुनासा तत्क्षण सम्बोधन गर्ने, कार्यसम्पादन मूल्यांकनमा प्रोत्साहन–सजाय प्रणाली कडाइका साथ लागू गर्ने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने तथा अनावश्यक संरचना सिर्जना नगर्ने उनले स्पष्ट गरे।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग र अनुगमन संयन्त्रलाई सक्षम उत्कृष्टता केन्द्रका रूपमा विकास गर्न, निजामती सेवालाई व्यावसायिक बनाउन, क्षमता विकास तथा नैतिकता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न तथा सरुवालाई स्वचालित र पूर्वानुमानयोग्य बनाउनेतर्फ पहल गर्ने उनले बताए।
कार्यसम्पादनको प्रगतिमा मासिक निगरानी गर्दै प्रधानमन्त्रीलाई प्रतिवेदन गर्ने प्रणालीलाई चुस्त बनाइने तथा विकास निर्माणसम्बन्धी छुट्टै ऐनको मस्यौदा तर्जुमा प्राथमिकतामा राखिने जानकारी उनले दिए। छिमेकी तथा मैत्रीपूर्ण राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम गरेर काम अघि बढाइने पनि बताए।
“संघे शक्ति कलौ युगे” उद्धृत गर्दै उनले टिम स्प्रिटमा काम गर्न नेतृत्वदेखि तल्लो तहसम्मका सबै राष्ट्रसेवकको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे। उनले पूर्वमुख्य सचिव एकनारायण अर्यालको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै जेन–जेड आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण र घाइतेहरूको स्वास्थ्य लाभको कामना गरे।
निजामती सेवा ऐनले निर्दिष्ट गरेअनुसार ज्येष्ठता र कार्यकुशलताको आधारमा मुख्य सचिव नियुक्ति गर्ने परिपाटीले संस्थागत विधि पद्धतिमा विश्वास बढाएको उल्लेख गर्दै उनले समग्र निजामती सेवाको गरिमा उकास्न सबै राष्ट्रसेवकको सक्रियता अनिवार्य भएको बताए।
यस्तै उनले सुझाव, मार्गदर्शन र समर्थनलाई आत्मसात् गर्दै निजामती सेवालाई सुशासन, सदाचार र सार्वजनिक सेवाको मियोका रूपमा स्थापित गर्न सदैव प्रतिबद्ध रहने प्रतिबद्धता जनाए ।








